काठमाडौं । कर्नेल सन्तबीर लामा (पाख्रिन)को १२८औं जन्मदिवसको अवसरमा तामाङ इतिहास, तम्बा कईतेन ह्वाइ र रिमठिमको सांस्कृतिक महत्वबारे विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका मुख्य अतिथि पूर्वमन्त्री दिलमान पाख्रिनले सन्तबीरलाई तामाङ समुदायको सैन्य गौरवका स्तम्भका रूपमा स्मरण गर्दै तामाङ इतिहासका उपेक्षित पात्रलाई सतहमा ल्याउनु आजको प्रमुख जिम्मेवारी भएको बताए।
पाख्रिन तामाङ समाज नेपालका केन्द्रीय अध्यक्ष शुक्र पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इतिहासविद रविन्द्र तामाङ र खोजराज गोलेले सन्तबीर लामाको जीवनी, सैन्य योगदान तथा तामाङ सामाजिक इतिहासमा उनका प्रभावबारे विश्लेषणात्मक प्रस्तुति दिएका थिए।
विशेष अतिथि पूर्वसचिव धनबहादुर पाख्रिनले सन्तबीरको व्यक्तित्व, नेतृत्व क्षमता र सांस्कृतिक चेतनाबारे अझै गहन अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै उनको जीवनका दस्तावेजीकरणले तामाङ इतिहास समृद्ध हुने बताएका थिए।
कार्यक्रमका सहभागीहरूले तामाङ इतिहासमा उपेक्षित व्यक्तित्वको तथ्यसंग्रह, मौलिक परम्पराको संरक्षण तथा सन्तबीर पाख्रिनको जीवनगाथाको अध्ययन भावी पुस्ताका लागि महत्वपूर्ण आधार बन्ने धारणा व्यक्त गरेका थिए।










