भुजेल समुदायको चलचित्र निको पहिचान केवल एक कथात्मक प्रस्तुति होइन, यो लामो समयदेखि मौन बसेको समुदायले पहिलो पटक आफ्नै इतिहास, संस्कार र पहिचानलाई पर्दामा उतारेको साहसी प्रयास हो। मनोरञ्जनको आवरणभित्र लुकेको यो फिल्म वास्तवमा सांस्कृतिक दस्तावेजका रूपमा उभिएको देखिन्छ।
चलचित्रको मूल आत्मा ढोरपाटन हो। ढोरपाटन यहाँ केवल भौगोलिक पृष्ठभूमि बनेर आएको छैन, बरु त्यो भुजेल समुदायको स्मृति, संघर्ष र अस्तित्वको प्रतीक बनेको छ। फिल्मका दृश्यहरूमा देखिने डाँडाकाँडा, गोठ, वन र बस्तीले कुनै सजावटको काम गर्दैनन्; ती सबै पात्रजस्तै बोलिरहेका छन्। ढोरपाटनको चिसो हावाले मानौँ दर्शकलाई पश्न गर्छ “तिमी आफ्नो जरा कति चिन्न सक्छौ?”
निको पहिचान ले भुजेल समुदायको पुर्ख्यौली पेशालाई लाज मान्नुपर्ने अतीत होइन, गौरव गर्नुपर्ने वर्तमानका रूपमा प्रस्तुत गरेको छ। गोठालो जीवन, पशुपालन र जमिनसँगको आत्मीय सम्बन्धलाई फिल्मले श्रमको सौन्दर्यका रूपमा देखाएको छ। यहाँ पसिना कमजोरी होइन, पहिचानको गहना बनेर चम्किन्छ। काम गर्ने हातहरूलाई फिल्मले कहिल्यै निम्न बनाएको छैन, बरु तिनै हातलाई इतिहास लेख्ने कलमसरह उचालेको छ।










