अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएपछि भारतमा पेट्रोल–डिजेल ३ रुपैयाँले बढ्यो

नयाँ दिल्ली। भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आजदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मूल्यवृद्धिपछि राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९७.७७ भारतीय रुपैयाँ पुगेको छ । यसअघि पेट्रोलको मूल्य ९४.७७ रुपैयाँ थियो । त्यसैगरी डिजेलको मूल्य पनि प्रतिलिटर ८७.६७ रुपैयाँबाट बढेर ९०.६७ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्यमा आएको तीव्र उतारचढावका कारण मूल्य बढाइएको बताइएको छ । इरान र अमेरिकाबीच तनाव चर्किनुअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ७० अमेरिकी डलर हाराहारीमा रहेकामा हाल १०० डलर नाघेको छ ।

कच्चा तेल महँगिएसँगै भारतीय तेल कम्पनीहरू आर्थिक दबाबमा परेका थिए । सोही दबाब कम गर्न कम्पनीहरूले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाइएको छ ।

विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च रहिरहे आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य अझै बढ्न सक्ने बताएका छन् ।