काठमाडौं । म्हेन्दोलाफोले पोडकास्टमार्फत विभिन्न क्षेत्रका एक सय विशिष्ट व्यक्तित्वसँग गरिएका संवादलाई पुस्तकका रूपमा प्रकाशन गरिएको ‘म्हेन्दोलाफोले : सय व्यक्तित्व, सय कथा’ को लोकार्पण समारोह आयोजना हुने भएको छ।
प्रकाशकका अनुसार यो पुस्तक केवल साहित्यिक कृति मात्र नभई विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वका जीवनका अनुभव, संघर्ष, सफलता र दृष्टिकोणलाई समेटिएको ऐतिहासिक दस्तावेजका रूपमा तयार गरिएको हो। पोडकास्टमार्फत अभिलेख गरिएका जीवन्त संवादलाई भावी पुस्तासम्म सुरक्षित रूपमा पुर्याउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जनाइएको छ।
पुस्तक लोकार्पण समारोहमा साहित्य, कला, संस्कृति, शिक्षा, सञ्चार, राजनीति, सामाजिक तथा अन्य विविध क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने छ। आयोजकले कार्यक्रममा उपस्थित भई ऐतिहासिक क्षणलाई गरिमामय बनाउन सबैमा आग्रह गरेको छ।
आयोजकका अनुसार पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम म्हेन्दोलाफोले फाउण्डेशनमार्फत सामाजिक, शैक्षिक तथा सांस्कृतिक सेवामूलक कार्यमा खर्च गरिनेछ। फाउण्डेशनले समाजहितका दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ।
आयोजकले पुस्तकलाई नेपाली समाजका प्रेरणादायी व्यक्तित्वहरूको अनुभव र विचारलाई एकै ठाउँमा अभिलेखीकरण गर्ने महत्त्वपूर्ण प्रयासका रूपमा प्रस्तुत गर्दै यसले भावी पुस्ताका लागि प्रेरणा र अध्ययनको स्रोत बन्ने विश्वास व्यक्त गरेको छ।









