किताब यात्रामा हरिबहादुर

काठमाडौं : हास्यकलाकार हरिवंश आचार्यको नयाँ उपन्यास ‘हरिबहादुर’को किताब यात्रा सुरु भएको छ । राजधानीमा शनिबार आयोजना गरिएको कार्यक्रमपछि कलाकार मदनकृष्ण श्रेष्ठले लेखक आचार्य र किताब यात्राका समूहलाई बिदाइ गरेर ‘हरिबहादुर किताब यात्रा’को औपचारिक सुरुआत गरेका थिए । किताबलाई आममानिससम्म पुर्‍याउने उद्देश्यले यात्रा गरिएको हो ।

कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले भने, ‘पुस्तक लेखिन्छ तर त्यसलाई बजारमा पुर्‍याउने काम त्यति व्यवस्थित रूपमा गरिँदैन । यो यात्राले पुस्तक पाठकसम्म पुर्‍याउन महत्ववपूर्ण काम गर्छ भन्ने लाग्छ ।’ आचार्यको ‘चिना हराएको मान्छे’ प्रकाशनपछि आत्मकथा लेखनमा लहर आएको बताउँदै मदनकृष्णले भने, ‘हरिबहादुरको प्रकाशनपछि उपन्यास लेखनमा अर्को लहर आउँछ भन्ने मलाई विश्वास छ ।’

प्रकाशक फाइनप्रिन्टका कार्यकारी अधिकृत निरज भारीले भने, ‘फाइनप्रिन्टको स्थापना कालदेखि नै पुस्तक प्रवद्र्धनका नयाँनयाँ प्रयोग गरेर पुस्तकको बजार विस्तार गर्दै लैजाने प्रयास रहँदै आएको छ । यो किताब यात्रा त्यसैको पछिल्लो कडी हो ।’ उनले आफूहरूले पहिले पनि किताब यात्रा गएको बताए । ‘तर एउटा बस, एउटा ट्रकसहित १६ जनाको टिम लिएर व्यवस्थित तरिकाबाट किताब यात्रा गरिएको यो सम्भवतः नेपालमा पहिलो हो’, उनले भने ।

लेखक आचार्यले भने, ‘पठनसंस्कृतिलाई व्यावसायिकतासँग जोड्ने राम्रो प्रयास हो, यो किताब यात्रा । यस यात्रामा मैले पूर्वदेखि पश्चिमसम्मका पाठकसँग प्रत्यक्ष संवाद गर्नेछु । यो मेरो लागि नौलो अनुभव हुनेछ ।’ १४ दिनको यो यात्रा पोखरा, बुटवल, दाङ, सुर्खेत, कोहलपुर, धनगढी, चितवन, बिर्तामोड, विराटनगर, धरान र सिन्धुली गरी ११ ठाउँमा हुनेछ ।

SHARE