मगर चलचित्र कर्मी संघको आयोजनामा, नेपाल सरकार चलचित्र विकास बोर्डको मुख्य आर्थिक सहयोग, नेपाल पुन मगर समाजको व्यवस्थापन तथा पुन मगर सूचना, सञ्चार तथा मनोरञ्जन विभागको संयोजनमा एक महिने (सय घण्टे) फोटोग्राफी तथा भिडियोग्राफी तालिमको उद्घाटन गण्डकी प्रदेशकी उपसभामुख माननीय विना कुमारी थापा मगरले पानसमा बत्ती बालेर गर्नुभएको छ।
कार्यक्रममा मगर चलचित्र कर्मी संघका अध्यक्ष विकास आले मगरको सभापतित्व रहेको थियो भने नेपाल पुन मगर समाजका अध्यक्ष तथा नेपाल मगर संघका उपमहासचिव खम गर्वुजा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। करिब तीन सय जनाको सहभागिता रहेको कार्यक्रममा विभिन्न संघ–संस्थाका पदाधिकारी, चलचित्रकर्मी, कलाकार, पत्रकार तथा सुरक्षाकर्मीको उपस्थिति थियो।
हाल तालिममा ३३ जना सहभागी भइसकेका छन्। इच्छुकहरूका लागि भर्ना अवधि दुई दिन थप गरिएको छ भने अन्तिम मिति पुस ४ गतेसम्म तोकिएको छ।









