बाढीले बाटो भत्किएपछि दोब्बर समय लगाएर खसीबोका राजधानी भित्रिदै, के मूल्य बढ्छ ?

सोमबार बिहानै टुकुचाको खसी बजारमा पुग्दा गाडीबाट व्यापारीले खसी हतार हतार झार्दै थिए । खोटाङको हलेसीबाट ल्याइएका ती खसी अब दशैँका लागि बिक्री हुनेछन् ।

हामी टुकुचासँगै कलंकीको खसी बजारमा पनि पुग्यौँ । ती स्थानमा पुग्दा खसी व्यापारीले यसपटक बाटोका कारण निकै सास्ती भोग्नुपरेको बताए । अघिल्लो साता परेको अविरल वर्षाका कारण बाढीले बाटो भत्काएपछि राजधानी बाहिरका जिल्लाबाट ढुवानी गर्न कठिनाइ भएको हो । बाटोको मात्र सास्ती नभएर प्रहरीलेसमेत बीच बाटोमा अनावश्यक दुःख दिएको साना लगानीका व्यापारीले गुनासो गरे ।

करिब १२ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आइरहेका खोटाङ, हलेसी तुवाचुङनगरपालिकाका व्यापारी खम्बबहादुर अधिकारीले यसपटक बाढी पहिरोका कारण बाटोमा निकै सास्ती भोग्नुपरेको बताए । विभिन्न ठाउँमा प्रहरीले रोकेर हैरानी खेप्नुपरेको उनको दुखेसो छ ।

‘खसी ल्याउँदा बाटोमा समस्या पनि छ’, उनी भन्छन्, ‘प्रहरीले चेकिङ गर्छ । कतै के मिलेन भन्छ, कतै सिग्नेचर मिलेन भन्छ ।’

अधिकारीले यसपटक ४० वटा खसी ल्याएका थिए । ८–९ घण्टामा आइपुग्ने बाटोमा करिब २४ घण्टा लागेको, गाडी भाडा महँगो भएको र बजारमा खसीको मूल्य उस्तै रहेकाले आफूले घाटा खप्नुपर्ने अवस्था भएको उनले सुनाए ।

ढुवानी गर्ने मालबाहक गाडी नहुँदा आफूहरूले यात्रुबाहक गाडीमै खसी राजधानी ल्याउने गरेको उनको भनाइ छ । अघिल्ला वर्षहरूमा पनि यात्रुबाहक गाडीमै खसी ल्याएको उनले बताए ।

उदयपुर चौदण्डीगढी नगरपालिकाका अर्का व्यापारी रामबहादुर खड्काले पनि अधिकारीले जस्तै समस्या भोग्नुपरेको बताए । प्रहरीले हरेक ‘चेक पोस्ट्’मा चिट काट्नाले आफूहरूलाई सास्ती भएको उनले दुखेसो गरे । निकासीको कागज देखाउँदा पनि प्रहरीले व्यवहारिक पाटो नबुझ्ने गरेको उनको भनाइ छ । प्रहरीले चेकिङको नाममा ‘घुस’ लिने गरेको उनको दाबी छ ।

‘किसानले पालेको दुई–चार ओटा खसी लिएर आउँछौँ । दशैँको लागि केही खर्च जुट्छ कि भनेर ल्यायो’, उनी भन्छन्, ‘कति हैरानी खेप्नुपर्छ । आठ–नौ ठाउँ चेकिङ हुँदा २–४ हजार खर्च हुन्छ । अनि एउटै मात्र खसी म¥यो भने पनि कति घाटा हुन्छ ? यो कसले बुझ्ने ?’

खड्का मुलुकमा सरकार नै नभए जस्तो अनुभूति हुने गरेको बताउँछन् । ‘यहाँ सरकार नै छैन, गुनासो गर्न पनि कहाँ जाउँ खै !’, उनी भन्छन् ।

आफूजस्तै थुप्रै साना व्यापारीले यस्तो सास्ती भोग्नुपरेको उनले बताए ।

हाम्रो समस्याको सुनाइ भएन : अध्यक्ष खत्री
चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष सन्तोषबहादुर खत्रीले साना व्यापारी र किसानले भोग्नुपरेको समस्या समाधानका लागि आफूहरूले पहल गर्दा पनि सुनुवाइ नभएको बताए । आफूहरू मन्त्रालयलगायतका सरोकारवाला निकायमा पटकपटक पुग्दा पनि सुनाइ नभएको उनले सुनाए ।

‘हामी मन्त्रीकहाँ पनि गयौँ, गुनासो ग¥यौँ । तर हाम्रो गुनासो नै सुनुवाइ हुँदैन’, खत्री भन्छन्, ‘खसीबोका बेच्ने त हो नि भनेर हामीलाई बेवास्ता गरिन्छ ।’

पर्याप्त मात्रामा खसीबोकाको आपूर्ति भइरहेको र कतिपय सडकहरू सुचारु भइसकेकाले यसपटक खसीबोको मूल्य नबढ्ने अध्यक्ष खत्रीले बताए । यद्यपि थप पानी परेर बाटो भत्किए मूल्य बढ्दैन भन्ने अवस्था पनि नरहेको उनको भनाइ छ ।

कस्ता खसी खानका लागि स्वस्थ हुन्छन् ?
पछिल्लो समय खसीबोकाको स्वास्थ्य आम उपभोक्ताले आफै बुझ्नसक्ने अवस्था बन्दै गइरहेको पशु चिकित्सक डा. मनिता सुवेदीको भनाइ छ । कलंकीको खसी बजारमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्दै गर्दा भेटिएकी उनले अहिले धेरै उपभोक्तामा चेतना विकास भएको बताइन् ।

‘अहिले त आम जनता धेरैलाई थाहा छ, कस्तो खसी राम्रो हो भनेर । हामीले भनिराख्नु पर्दैन’, उनी भन्छिन्, ‘यहाँ पनि हामीले विस्तृतमा त जाँच्ने होइन, हेरेर कुन कस्तो छ भनेर स्वस्थ देखिने खसीबोकालाई हरियो रङ चिनो लगाउँछौँ ।’

उनका अनुसार साधारणतया नाकबाट सिँगान नआएको, आँखामा चिब्रा नभएको, हेर्दा चिल्लो र ह्रिष्टपुष्ट देखिने, ज्वरो आएर थरर नकापेको खसीबोका स्वस्थ हुने बताइन् । उनले काँपेको तथा लुते खसीबोका उपभोक्तालाई खरिद नगर्न आग्रहसमेत गरिन् ।

डा. सुवेदीले यात्रा गरेर खसीबोका ल्याउँदा पनि बिरामी पर्न सक्ने बताइन् । तर यात्राले गर्दा बिरामी परेका वा थाकेका खसीबोकालाई केही समय आराम गराउने, घाँस तथा दानापानी दिएपछि स्फूर्त हुने उनको भनाइ छ ।

डा. सुवेदीले स्वस्थ खसीबोकालाई हरियो रङ लगाउने र बिरामी परेका वा अस्वस्थ खसीबोकालाई रातो रङ लगाउने गरेको बताइन् । ‘सामान्यतः हरियो रङ लगाएका खसीबोका स्वस्थ हुन् भन्ने हो’, उनी भन्छिन्, ‘रातो रङ लगाएकालाई अलग राख्नू भन्छौँ । अलग राखेको केही दिनपछि बिक्री गर्न योग्य हुन्छ ।’

तर डा. सुवेदीले भनेजस्तो अस्वस्थ खसीबोकालाई अलग राख्न बजारमा फराकिलो स्थान छैन । बिक्री गर्न ल्याइएका खसीबोका खचाखच राखिएका छन् । र, रातो चिनो लगाइएका खसीबोका पनि एकैछिनमा हरियो भइहाल्ने हुन् कि ?, शंका गर्ने ठाउँ छ । एकपटक स्वास्थ्य परीक्षण भएपछि बजार अनुगमन गर्ने कसले ? यो व्यापारीको इमानदारितामा मात्र भर पर्ने देखिन्छ ।

SHARE