नेपाल प्रहरीका एक जना हवल्दारसहित १५ जना प्रहरी कर्मचारी दुई महिनादेखि सम्पर्कविहीन भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचना जारी गर्दै ती प्रहरी कर्मचारीलाई हाजिर हुन आउन निर्देशन गरेको छ ।
आफूखुसी गैरहाजिर भएको भन्दै स्पष्ट र चित्तबुझ्दो कारणसहित हाजिर हुन आउन भनेको हो ।
आफूखुशी गैरहाजिर रहनेहरूमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवल्दार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हवलदार धनबहादुर कार्की, जाजरकोटको इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत सहायक हवलदार चेतन महतारा छन्।
हवल्दार र सहायक हवलदार मंसिरदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
अन्य प्रहरी जवान, प्राविधिक प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमै कार्यरत प्रहरी जवान रूपक साउद असोजदेखि सम्पर्कविहीन छन्।
उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।








