युगान्डामाथि नेपालको सङ्घर्षपूर्ण जित

चार देशीय महिला टी–२० आई सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । युगान्डालाई एक विकेटले पराजित गर्दै दोस्रो खेलमा नेपालले जित निकालेको हो ।

७६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.५ ओभर ९ विकेट गुमाउँदै भेट्टायो ।

१८ औँ ओभरसम्म युगान्डाले खेल आफ्नो पक्षमा पारेको थियो । लगातार नेपालले आफ्नो विकेट गुमाएपछि युगान्डाले खेलमा नियन्त्रण जमाएको थियो । तर अन्तिम ओभरमा ६ रन चाहिएका बेला ईश्वरी विष्ट र रिया शर्माले इनिङ सम्हाल्दै नेपालको जित सुनिश्चित गरे ।

नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन बनाइन् । त्यस्तै पूजा महतोले १६ तथा रुबिना क्षेत्री बेलबासेले १० रन जोडिन् । अन्य ब्याटरले भने दोहोरो अङ्कको स्कोर बनाउन सकेनन् ।

युगान्डाका लागि जनेट एम्बाबाजीले ३ तथा सारा वालाजाले २ विकेट हात पारे ।

यसअघि ब्याटिङ गरेको युगान्डाका लागि इमाकुलेटे नाकिसुयी सर्वाधिक २२ रन बनाएकी थिइन् । त्यस्तै स्टेफेनी नाम्पिनाले १४ रन बनाइन् ।

नेपालका लागि पूजा महतोले ३ तथा इन्दु बर्माले २ विकेट लिए ।

हिजो भएको खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

नेपालले अब फागुन २६ गते हङकङसँग, फागुन २८ गते नामिबियासँग, फागुन २९ गते युगान्डासँग र आगामी चैत १ गते हङकङसँग खेल्नेछ ।

SHARE