काठमाडौँ । तामाङ भाषा, साहित्य तथा संस्कृति क्षेत्रमा २४ वर्षदेखि सक्रिय तामाङ डाजाङले शनिबार सम्पन्न २३५औं श्रृंखला कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा योगदान पुर्याएका तामाङ महिला फुटबल खेलाडीलाई सम्मान गरेको छ ।
तामाङ महिलाले खेलकुद विशेषगरी फुटबलमार्फत दिएको योगदानलाई कदर गर्दै जनही ५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
सम्मानित खेलाडीमा महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामासहित अनु लामा, रेणुका नगरकोटे (लामा), रश्मिकुमारी घिसिङ, मञ्जली योञ्जन, निशा थोकर, अञ्जना राणामगर (तामाङ), अञ्जली वाइबा, सपना लामा, सजनी थोकर, रजनी थोकर, सुजता तामाङ, यशोदा थोकर, निकिता थोकर, रबिना गोले र अन्जु लोप्चन रहेका छन् ।
कार्यक्रममा एन्फाका उपाध्यक्ष दावा घिसिङले महिला खेललाई पैसामा दाज्न नसकिने भन्दै महिला फुटबललाई एन्फाले प्राथमिकतामा राखेको बताए । उनका अनुसार, “महिला खेलाडी जुनसुकै मुलुकमा हुने प्रतियोगितामा सहभागी भइरहेका छन्, यो सम्भव हुनुमा खेलाडीको समर्पण र एन्फाको सहयोग दुवैको हात छ ।”
यस्तै, राई गाउँ युवा क्लबका अध्यक्ष छविलाल बम्जनले तामाङ समुदायका छोरी–बुहारीलाई सामूहिक सम्मान गर्न पाएकोमा गर्व व्यक्त गरे । गीतकार भरत बम्जनले मैदानमा महिला खेलाडीको निरन्तर मिहिनेतलाई प्रेरणादायी भन्दै सरकारले अझ प्रोत्साहन दिनुपर्ने आवश्यकता औंल्याए ।
सम्मानित खेलाडीमध्ये रेणुका नगरकोटेले आफूहरूको योगदानलाई कदर गर्नु नै ठूलो प्रेरणा भएको बताइन् ।
तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जनले तामाङ छोरी–बुहारीलाई फुटबल खेलमा गरेको योगदानका लागि सामूहिक सम्मान गर्न पाउनु आफैंमा गौरवको विषय भएको बताए ।