राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा पक्राउ परेका छन् । थापालाई अमेरिकन इमिग्रेसनले पक्राउ गरेको हो ।
नेपालबाट अमेरिका जाँदै गर्दा उनलाई पेन्सिल्भेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो। उनी अहिले फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा रहेका छन्।
रास्वपाका सदस्य थापाले अमेरिकाको बाल्टिमोरमा रवि लामिछानेका लागि धमाधम चन्दा उठाउने कार्य गरिरहेको भन्दै विवादमा आएका थिए। लामिछाने गृहमन्त्री छँदा थापाले प्रहरीको सरुवा बढुवा गराइदिने भनेर असुली सुरु गरेको आरोप लाग्दै आएको थियो। रास्वपाका तत्कालीन सांसद डा. ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाइदिने भन्दै थापाले पैसा मागेको दाबी गरेका थिए। थापाले लामिछानेको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै ठगी गर्दै आएका घटना सार्वजनिक हुँदै आएका छन्।
रास्वपा नेताका अनुसार थापाले आफ्नो कानुनी जटिलताका कारण आफू पार्टीको जिम्मेवारीबाट अलग्गिने भन्दै निवेदन दिएका थिए ।
पार्टीको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम अहिले हटाइएको छ ।