डम्फू बाजाको पहिलो पाठ्यक्रम तयार, विद्यालयस्तरमै प्रशिक्षण सुरु गर्ने तयारी

काठमाडौं । तामाङ समुदायको मौलिक पहिचानको प्रतीक डम्फू बाजालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक रूपमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित पहिलोपटक पाठ्यक्रम तयार गरिएको छ।

नेपाल तामाङ संस्कृत‍ि घेदुङ्को आयोजनामा हालै विषयगत विज्ञहरूको भेलामार्फत उक्त पाठ्यक्रमका विषयवस्तुमा छलफल गरी आवश्यक सुझाव संकलन गरिएको हो। पाठ्यक्रम संगीतकार तथा संगीत प्रशिक्षक छेवाङ तेन्जेन लामाले तयार गरेका हुन्।

कार्यशालामा लामो समयदेखि डम्फू निर्माण र वादनमा संलग्न ताम्बा संघ नेपालका अध्यक्ष धवावाङ्गेल लामा, संगीत प्रशिक्षक शुभ लामा, कलाकार संघका कोषाध्यक्ष तथा गायक योगेश लामा, सेलो नृत्य विज्ञ सागर लामा, डम्फू वादनमा स्नातकोत्तर तहको अनुसन्धान गरेका नवीन लामा लगायत सहभागी थिए। कार्यशालालाई अनुसन्धानकर्ता खोजराज गोलेले सम्पादन र उदय दोङले सहजीकरण गरेका थिए।

तयार गरिएको पाठ्यक्रमअनुसार अब योग्य र अनुभवी डम्फू प्रशिक्षकहरूको विवरण संकलन गरी काठमाण्डौ महानगरपालिका लगायतका नगरपालिकामा सूची दर्ता गर्ने तयारी गरिएको छ। त्यसपछि स्थानीय तहसँग समन्वय गरेर विद्यालयस्तरमै तालिम सञ्चालन गरिनेछ।

नेपाल तामाङ संस्कृत‍ि घेदुङ्का अध्यक्ष छेवाङ तेन्जेन लामाका अनुसार, सामुदायिक विद्यालयमा डम्फू बाजाको सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण सुरु गर्ने लक्ष्य लिइएको छ। यसले विद्यार्थीलाई आफ्नै संस्कृतिको जरा र पहिचानसँग नजिक बनाउने अपेक्षा गरिएको छ।

तामाङ समुदायमा डम्फू बाजा केवल संगीत उपकरण मात्र नभई संस्कृति, आस्था र पहिचानसँग जोडिएको अमूल्य सम्पदा मानिन्छ। यसलाई विद्यालय पाठ्यक्रममार्फत सिकाउने कार्यले नयाँ पुस्तामा सांस्कृतिक सम्पदा जगेर्नामा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकहरूको विश्वास छ।

SHARE