काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले पुनः राजनीतिक नेताहरूमाथि तीखो प्रहार गरेका छन्। बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्ट्याटसमार्फत उनले हालैका राजनीतिक गतिविधि र भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका घटनालाई लिएर नेताहरूको आचरणमाथि कटाक्ष गरेका हुन्।
बालेनले आफ्नो स्ट्याटसमा लेखेका छन् –
“तुइन र काठको पूल बनाउने नेताहरू भन्छन्, यो देश विदेशीले बिगार्यो।
भिसा पाउनलाई तिमिहरूको घर धाउनुपर्छ, अरूलाई एजेन्ट भन्छौ।
आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउछ, कांग्रेसले एमालेको जलाउछ, दोष आफ्ना बालबच्चालाई दिन्छौ।
चियाको टाईममा रगत पिएर अरूलाई लुसिफर भन्छौ।
लाज लाग्दैन?”
उनको यो भनाइ पछिल्लो समय देशको राजनीतिक अस्थिरता, दलगत झगडा र नेताहरूको आचरणप्रति असन्तुष्टिको रूपमा व्याख्या गरिएको छ।
बालेन शाहले विगतदेखि नै आफूलाई दलविहीन र व्यवहारमुखी नेताको रूपमा प्रस्तुत गर्दै आएका छन्। उनले राजधानीको विकासका काममा अवरोध पुर्याउने राजनीतिक शक्ति र नेताहरूमाथि बारम्बार असन्तुष्टि जनाउँदै आएका छन्। यस पटकको कटाक्षमा उनले देशका नेताहरूको दोहोरो चरित्र, प्रवासमा हुने दलाली प्रवृत्ति र राजनीतिक हिंसात्मक संस्कृतिप्रति आक्रोश प्रकट गरेका छन्।
उनले “तुइन र काठको पूल बनाउने नेताहरू” भन्ने वाक्य प्रयोग गरेर विकासमा लापरबाही गर्ने र जिम्मेवारी विदेशी शक्तिमाथि थोपर्ने राजनीतिक बानीको आलोचना गरेका हुन्।











