काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशनपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक काठमाडौंको रातो पुलस्थित जैफुल गार्डेन एण्ड रेस्टुरेन्टमा सम्पन्न भएको छ। बैठक नवनिर्वाचित अध्यक्ष भुपेन्द्र ब. रिखाम मगरको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा निवर्तमान अध्यक्ष रेशम कुमार श्याउली तामाङ, आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषदका सल्लाहकार तथा महोत्सव निर्देशक प्रतिमाया पुन मगर, नेवा फिल्म सोसाइटीका अध्यक्ष लु:ज सिंङज्यूको विशेष आतिथ्य रहेको थियो।
बैठकको महत्वपूर्ण एजेन्डा अन्तर्गत रिक्त पदपूर्तिको प्रक्रिया अघि बढाउँदै तामाङ चलचित्र संघ, धिमाल चलचित्रकर्मी संघ र माझी चलचित्रकर्मी संघ गरी तीन जातीय चलचित्र घटक संघको प्रतिनिधित्व हुने गरी सिफारिसका आधारमा ममता माझीलाई कोषाध्यक्ष तथा हुतबहादुर तामाङ (सञ्जय) र सङ्गिता धिमाललाई सदस्य पदमा मनोनयन गरिएको छ। साथै निवर्तमान अध्यक्ष रेशम कुमार श्याउली तामाङलाई प्रमुख सल्लाहकारको भूमिकामा नियुक्त गरिएको छ।
बैठकमा अक्षयकोष निर्माण सम्बन्धी प्रस्तावमाथि सम्पूर्ण जातीय चलचित्र संघहरूसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा व्यापक छलफल र बहस गरियो। छलफलपछि चलचित्र प्रदर्शनका पाँचवटा टिकट सहयोगस्वरूप प्रदान गर्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरियो। सो प्रस्तावलाई सहर्ष स्वीकार गर्दै नेवा फिल्म सोसाइटी, भुजेल चलचित्रकर्मी संघ र याक्थुङ मुचइत चोक सयङ (नेवा ताम्सालिङ प्रदेश) ले गरेको सहयोगको उच्च कदर गर्दै मायाको चिनो प्रदान गरियो।
कार्यक्रमको अन्तिम चरणमा पूर्व अध्यक्ष तथा महोत्सव निर्देशक प्रतिमाया पुन मगरले बागमती प्रदेशको यात्रा सहज र अर्थपूर्ण दिशामा अघि बढिरहेको उल्लेख गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। साथै वर्तमान परिस्थितिमा संयम, सजगता र सहकार्यका साथ अघि बढ्न सुझाव दिनुभयो।
बैठकले संगठनलाई थप सशक्त बनाउँदै जातीय चलचित्र संघहरूबीच सहकार्य र एकताको सन्देश दिएको सहभागीहरूले बताएका छन्।










