जिरी चेर्दुङको सौन्दर्य झल्काउने जीवन लामाको एकल तस्बिर प्रदर्शनी

काठमाडौं । दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक गन्तव्य जिरी चेर्दुङलाई केन्द्रमा राखेर फोटो पत्रकार जीवन लामाको एकल तस्बिर प्रदर्शनी आयोजना गरिएको छ।

प्रदर्शनीमा चेर्दुङ पदयात्राका क्रममा खिचिएका हिमाली दृश्य, गुराँसले ढाकिएका डाँडा, चौँरीगोठ, स्थानीय जनजीवन तथा धार्मिक सम्पदासम्बन्धी आकर्षक तस्बिरहरू राखिएका छन्। तस्बिरमार्फत जिरी चेर्दुङ क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र धार्मिक महत्वलाई उजागर गर्ने प्रयास गरिएको प्रदर्शनीमा सहभागीहरूले बताएका छन्।

पर्यटन पत्रकारितामा सक्रिय लामा लामो समयदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यको तस्बिर तथा आलेखमार्फत प्रवर्द्धनमा संलग्न छन्। उनले यस प्रदर्शनीमार्फत जिरी चेर्दुङको पर्यटन सम्भावना, अध्यात्मिक महत्व र पदयात्रा पर्यटनको आकर्षणलाई व्यापक रूपमा चिनाउने उद्देश्य राखेको बताएका छन्।

दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याँकुमा जन्मिएका लामा वि.सं. २०६२/६३ को जनआन्दोलनपछि व्यावसायिक पत्रकारितामा सक्रिय भएका हुन्। उनी ‘कालिञ्चोक सन्देश’ साप्ताहिकबाट फोटो पत्रकारितामा परिचित बनेका थिए।

आयोजकका अनुसार प्रदर्शनी जेठ १६ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीले जिरी चेर्दुङ क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।