काठमाडौं । तामाङ भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा क्रियाशील तामाङ चलचित्र संघले आफ्नो १८औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ। स्थापना दिवसको अवसरमा तामाङ चलचित्र ‘उर्गेन’को गीत सार्वजनिक गरिनुका साथै विशेष सांस्कृतिक कार्यक्रम र सेमरि छोरङन पदक सम्मान आयोजना गरिने भएको हो।
संघका अनुसार कार्यक्रम शनिबार, २०८३ साल असार २० गते दिउँसो ११ बजे, चलचित्र विकास बोर्ड, काठमाडौंमा हुनेछ। कार्यक्रममा तामाङ चलचित्रकर्मी, कलाकार, साहित्यकार, सांस्कृतिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ।
स्थापना दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी तामाङ समुदायको सांस्कृतिक पहिचान, मौलिक कला र चलचित्र क्षेत्रको योगदानलाई उजागर गर्ने उद्देश्यले विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा चलचित्र ‘उर्गेन’को गीत सार्वजनिक गर्दै नयाँ सिर्जनालाई दर्शकमाझ ल्याइनेछ।
त्यसैगरी, तामाङ चलचित्र तथा कला–संस्कृतिको संरक्षण, विकास र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सेमरि छोरङन पदकबाट सम्मान गरिने कार्यक्रम पनि राखिएको छ। संघका अनुसार यस्तो सम्मानले तामाङ चलचित्र क्षेत्रमा क्रियाशील स्रष्टा र कलाकारहरूको योगदानको कदर गर्दै नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा प्रेरित गर्ने विश्वास लिइएको छ।









