रसुवा बाढीपीडितका लागि जिरी नगरपालिकाले १७ लाख ८५ हजार दिने

जिरी। जिरी नगरपालिकाले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ लाख ८५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

गत भदौ १० गते रसुवामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले नगर कार्यपालिकाको बैठकले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

प्राकृतिक विपद्का कारण ज्यान गुमाएका, बेपत्ता भएका तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै नगरपालिकाले विपद्को कठिन समयमा स्थानीय तहको सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

नगरपालिकाले बाढीका कारण परिवारका सदस्य बेपत्ता भएका परिवारलाई थप ५० हजार रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

विपद्बाट प्रभावित नागरिकको तत्काल राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षासहित नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग रकम उपलब्ध गराउने जनाएको छ।