अमेरिकामा छायांकन हुने फिल्म ‘तेल भिसा’ले गर्‍यो कास्टिङ-कल

बिपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङ लगायतका कलाकारलाई लिएर निर्माण हुन लागेको फिल्म ‘तेल भिसा’ले कास्टिङ कल आह्वान गरेको छ ।

शंकर घिमिरेको निर्देशन गर्ने यो फिल्मले अमेरिकामा खिचिने दृश्यका लागि बाँकी कलाकारको अडिसन आह्वान गरेको हो। चैतको दोस्रो साता (अप्रिल १)देखि अमेरिकाको मेरिल्याण्ड राज्यबाट यो फिल्मको छायांकन सुरु हुँदैछ अडिसनमा विभिन्न उमेर समूहका अमेरिकीसहित अफ्रिकी, पाकिस्तानी, मेक्सिकन, कोरियाली, दक्षिण एसियालीसहित भिन्न वर्णका विदेशी मुलका महिला पुरुषका लागि कास्टिङ कल गरिएको हो ।

अडिसनमा भाग लिन अमेरिकामै बसोबास गर्ने व्यक्ति हुनुपर्ने सर्त राखिएको छ । आवेदकमा अभिनय कलासँगै अमेरिकी रहनसहन, भाषा र भेषभुषाको राम्रो ज्ञान हुनुपर्ने मापदण्ड तोकिएको छ ।अडिसनमा सहभागिता जनाउन इच्छुक ब्यक्तिले फिल्म निर्माण कम्पनी वेल डन क्रिएसनलाई मेल गर्नुपर्ने भएको छ । फोटोसहि बायोडाटा पठाउनुपर्ने जनाइएको छ ।

नेपाली फिल्मको अन्र्तराष्ट्रिय वितरणमा लोकप्रियता कमाएको सेभेन सिज इन्टरटेनमेन्टसँग मिलेर वेलडन क्रिसनले फिल्म निर्माण गर्न लागेको हो । ‘तेल भिसा’को ७० प्रतिशत छायाँकन अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क, वासिङटन डिसीसहित विभिन्न लोकेशनमा हुने जनाइएको छ ।

बाँकी छायांकन नेपालमा गर्ने तयारी छ । फिल्म निर्माणका लागि नेपाल अमेरिका फिल्म सोसाइटीसहित विभिन्न नेपाली संघसंस्थाले सहजीकरण गर्दैछन भने विभिन्न लोकेसन पर्मिटका लागि मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारीसहितले अमेरिकी सराकारको तर्फबाट छायांकनमा सहयोग गर्ने जनाइएको छ ।

SHARE