काठमाडौं । आदिवासी जनजाति आन्दोलनका अभियन्ता तथा लेखक मोहन गोले तामाङका दुई पुस्तक एकैसाथ सार्वजनिक गरिएको छ ।
शुक्रबार काठमाडौंमा ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालले आयोजना गरेको कार्यक्रममा गोलेद्वारा लिखित ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ पुस्तक विमोचन गरिएको हो ।
पुस्तकको विमोचन पूर्वराजदूत गणेश योञ्जन तामाङ, समाजशास्त्री मुक्त सिंह लामा, लेखक युग पाठक, भाषाविद् अमृत योञ्जन तामाङ, साहित्यकार तथा समालोचक कुमारी तामाङ र स्वयं लेखक गोलेले संयुक्त रूपमा गरेका थिए ।
नेपाल तामाङ घेदुङका निवर्तमान अध्यक्षसमेत रहेका गोलेका यी नवौं कृति हुन् । दुवै पुस्तक ताम्सालिङ नलेज सेन्टरले प्रकाशन गरेको हो ।
पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदूत गणेश योञ्जन तामाङले तामाङ समुदायले संगठित रूपमा आफ्ना मुद्दा उठाउन सके राज्यसँग विभेदका विषयमा प्रभावकारी संवाद गर्न सक्ने बताए ।
उनले ‘तामाङ राष्ट्रको राजनीति’ पुस्तकले तामाङ राष्ट्रको राजनीति बुझ्न थप अध्ययन र अनुसन्धानका लागि आधार तयार गरेको उल्लेख गरे ।
‘पुस्तकमा सबै कुरा पूर्ण छन् भन्न खोजेको होइन । तर यसले थप अनुसन्धानका लागि प्रशस्त ठाउँ औंल्याएको छ,’ उनले भने, ‘थप अध्ययन अनुसन्धान गरेर नेपाली समाजलाई तामाङ राष्ट्रबारे बुझाउन सकिनेछ भन्ने आशा लिएको छु ।’
कार्यक्रममा वक्ताहरूले पुस्तकले तामाङ समुदायको राजनीतिक अवस्था, पहिचान, संस्कार र संस्कृतिबारे अध्ययन तथा विमर्शलाई थप अघि बढाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।








