‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारासहित जिरीमा दोलखा कप २०८२ भलिबल महा-संग्राम

जिरी (दोलखा) । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने राष्ट्रिय भावनालाई आत्मसात् गर्दै दोलखा जिल्लाको जिरीमा दोलखा कप २०८२ आयोजना हुने भएको छ। दोलखा एकीकृत जिरीको आयोजना तथा जिरी नगरपालिका, बागमती प्रदेशको सह–आयोजनामा हुन लागेको यो प्रतियोगिता बागमती प्रदेश र कोशी प्रदेश अन्तर–पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताका रूपमा सञ्चालन हुनेछ।

आगामी माघ २४ देखि २८ गतेसम्म सञ्चालन हुने यो खेलकुद महा–संग्रामले ग्रामीण तहदेखि प्रदेशस्तरसम्मको खेल प्रतिभालाई एकै थलोमा उभ्याउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने टिमहरूले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्नुका साथै आपसी सद्भाव, भाइचारा र खेलकुद संस्कृतिको विकासमा योगदान पुर्‍याउनेछन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम पुरस्कार स्वरूप नगद रु २,०१,०००,द्वितीय पुरस्कार रु १,०१,०००,तृतीय पुरस्कार रु ५१,०००,र सान्त्वना पुरस्कार रु २५,००० प्रदान गरिनेछ।
यसका साथै विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूका लागि टिम दर्ता शुल्क रु ७,००० तोकिएको छ। खेलकुदमार्फत युवालाई सकारात्मक दिशातर्फ डोर्‍याउने, लागुऔषध दुव्र्यसन र निष्क्रिय जीवनशैलीविरुद्ध सचेतना फैलाउने तथा जिरी क्षेत्रलाई खेल पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाको भनाइ छ।

स्थानीय तहको सक्रिय सहभागिता, दर्शकको उत्साहपूर्ण समर्थन र प्रदेशस्तरीय प्रतिस्पर्धाका कारण दोलखा कप २०८२ यस वर्षको महत्वपूर्ण खेलकुद उत्सव बन्ने विश्वास गरिएको छ।