हुम्लामा ३ ओटा गाउँ बाढिपहिरोले घेरिए

  1. सुर्खेत। हुम्लाको सर्केगाड गाउँपालिका अन्तर्गत पर्ने तीन वटा गाउँ बाढी र पहिरोले घेरिएको छ । वडा नम्बर २ को रिप, ६ को जिउँसी र ८ को एउटा गाउँ गत रातिदेखिकाे अविरल वर्षाका कारण खोलामा बढेको बाढी र पहिरोले घेरिएको हो । 

त्यहाँका नागरिकहरू त्रासमा बसिरहेको गाउँपालिका उपाध्यक्ष चन्द्र कार्कीले जानकारी दिए । ‘राति ११ बजेबाट सुरु भएको वर्षा‌ अहिलेसम्म पनि रोकिएको छैन,’ उनले भने, ‘रिप गाउँको वरिपरिका खोला नालाहरू बढेर गाउँ पसेका छन् भने खोलामाथि बनाइएका काठे पुलहरू बगेका छन् ।’ अहिलेसम्म मानवीय क्षति नभए पनि बस्ती उच्च जोखिममा रहेकाले तत्काल स्थानान्तरण गर्नुपर्ने देखिएको कार्कीको भनाई छ।

खोलामा रहेका काठे पुल बगाउँदा मान्छेहरू बस्तीबाहिर आउन नसकेको उनले बताए । पानीले जग्गा जमिन बग्न थालेको छ। 

बस्तीलाई चाँडै स्थानान्तरण गर्न नसके ठुलो मानवीय क्षति हुन सक्ने संभावना रहेको छ । २० वर्ष पहिला पनि एक पटक त्यस्तै घटना भएको र अहिले पुनः बस्ती नै जोखिम हुने गरी बाढी र पहिरो आएको हो ।

यता नागरिकलाई स्थानान्तरणका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको प्रदेश सरकारका कानुन मन्त्रीले बताए। बस्ती स्थानान्तरण लागि सुरुमा ठाउँहरुकाे खोजी गरिने र त्यसपछि मात्र स्थानान्तरणका लागि पहल थालिने उनले बताए । ‘रिप,‌ राबे, जिउँसी गाउँ बाढी र पहिरोले घेरिएको अवस्थामा रहेको र नागरिकहरू त्रासमा बसिरहेको भन्ने कुरा हामीकहाँ आएको छ,’उनले भने,’ मान्छेलाई बाहिर निकाल्न सकिएको अवस्था छैन।’

नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहेको र केही समयमा हुम्ला उड्ने उनले बताए ।

मन्त्री जिसीले गृह मन्त्रालयबाट पनि थप हेलिकप्टर माग गरिएको बताए । ‘राहत सामग्री लिएर सुरक्षित स्थानमा सार्नका लागि सहज होस् भनेर ‌हामीले‌ गृहसँग माग गरेका छौँ,’ उनले भने । त्यहाँकाे टेलिफाेन समेत लाग्न नसकेकाले समस्या भइरहेको उनले बताए । 

 
SHARE