काठमाडौं। बस्तीमा डोजर चलेपछि त्रास र अन्यौलमा परेका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आउने क्रम तीव्र बनेको छ। सोमबार दिउँसोसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ८२२ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएका छन्। ती परिवारका कुल ३ हजार ३ सय ६७ जना सदस्यमध्ये करिब १५ सय बालबालिका रहेका छन्।
थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि प्रभावितहरू सुरक्षित आश्रयको खोजीमा रंगशाला पुगेका हुन्। शनिबार बिहानै प्रहरीले माइकिङ गर्दै बस्ती खाली गर्न आग्रह गरेपछि धेरै परिवार सामानसहित विभिन्न स्थानतर्फ सरेका थिए।
सरकारले आफैँ बसोबास र खानपिनको व्यवस्था गर्न नसक्ने परिवारलाई लक्षित गर्दै रंगशालामा हेल्प डेस्क स्थापना गरेको छ। त्यहाँ दर्ता गरिएका सुकुम्बासीलाई पाँचवटा ‘होल्डिङ सेन्टर’ मा अस्थायी बसोबासको व्यवस्था गरिएको छ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले छुट्टाछुट्टै डेस्कमार्फत विवरण संकलन गरिरहेका छन्। साथै, रंगशालामै स्वास्थ्य परीक्षण र खानाको व्यवस्था पनि गरिएको छ, जसको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ।
थापाथलीबाट विस्थापित अधिकांश सुकुम्बासी रंगशाला पुगिसकेका छन् भने सिनामंगल, गैरीगाउँ र शान्तिनगर क्षेत्रबाट आउनेको संख्या आइतबारदेखि उल्लेख्य रूपमा बढेको छ।
हालसम्म दर्ता भएका परिवारहरू कुन-कुन बस्तीबाट आएका हुन् भन्ने विस्तृत वर्गीकरण भने बाँकी रहेको सम्बन्धित अधिकारीहरूले बताएका छन्। विवरण संकलनपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टर, होटल तथा लजहरूमा सार्ने काम जारी छ।









