महिला विश्वकप फुटबल प्रतियोगिताबाट आयोजक राष्ट्र न्युजिल्यान्ड बाहिरियो

‘नवौं महिला विश्वकप फुटबल प्रतियोगिता’ को आयोजक राष्ट्र न्युजिल्यान्ड समूहगत चरणबाटै बाहिरिएको छ । समूह चरणबा बाहिरिएसँगै विश्वकपको समूहगत चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र पनि न्युजिल्यान्ड बनेको छ ।

आइतबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा स्विट्जरल्यान्डले न्युजिल्यान्डलाई गोलरहित बराबरीमा रोक्यो । न्युजिल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना उक्त नतिजापछि समाप्त भएको हो । सोही समूहको आइतबार नै भएको अर्को खेलमा नर्वेले फिलिपिन्सलाई ६—० गोलले हरायो । उक्त नतिजासँगै समूह ‘ए’ को सबै खेल सकिएको छ ।

नकआउट चरणमा समूह ‘ए’ बाट पाँच अंकसहित स्विट्जरल्यान्ड र चार अंकसहित नर्वे पुगेका छन् । चार अंक जोडेको न्युजिल्यान्ड र तीन अंक बटुलेको फिलिपिन्स भने समूहगत चरणबाटै बाहिरिएका हुन् । नर्वे र न्युजिल्यान्डको समान चार—चार अंक भए पनि गोलअन्तरमा नर्वेले न्युजिल्यान्डलाई पछाडि पारेको हो ।

महिला विश्वकप न्युजिल्यान्ड र अस्ट्रेलियामा संयुक्त रुपमा आयोजना भइरहेको छ ।

SHARE