रुसी सेनामा भर्ती भएका पूर्व वडाध्यक्षसमेत रहेका बुढाथोकीको रुस–युक्रेन युद्धमा मृत्यु

रुस–युक्रेन युद्धमा थप एक नेपालीको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका तीर्खबहादुर बुढाथोकीको युद्धमा मृत्यु भएको हो ।

उक्त वडाका पूर्व वडाध्यक्षसमेत रहेका बुढाथोकीको रुस–युक्रेन युद्धमा हालसालै मृत्यु भएको जनाइएको छ ।

बुढाथोकीको मृत्युको खबरले परिवार शोकमा डुबेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार थिए। पराजित बनेपछि उनी रुस गएका थिए।

पारिवारिक स्रोतका अनुसार २०८० असोजमा बुढाथोकी रसिया सेनामा सामेल भएका थिए। रसिया र युक्रेनको बेलाबेला भइरहने लडाइँले ज्यान जोखिम रहेको आफन्तसँग फोन र फेसबुक म्यासेन्जरबाट कुरा गर्ने गरेको बुझिएको छ।

परिवारले फागुन २४ गतेमात्र उनको मृत्युको खबर थाहा पाएका थिए। केही हप्तादेखि सम्पर्कविहीन बनेपछि परिवार आत्तिएका थिए। उनको मृत्यु भएको यकिन मितिसमेत थाहा भएको छैन। उनले रुसी सेना छाडेर घर आउने पनि बताउँदै आएको आफन्तले बताएका छन्।
(अन्नपूर्ण पोस्ट्)

SHARE