२९ औं तामाङ प्रसारण दिवसको अवसरमा आयोजित तामाङ आन्दोलनमा मिडियाको भूमिका विषयक छलफल कार्यक्रम सम्पन्न :तामाङ पत्रकार संघ काठमाडौँ

तामाङ पत्रकार संघ काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आयोजित तामाङ आन्दोलनमा मिडियाको भूमिका विषयक छलफल तथा पूर्ण बैठक सम्पन्न भएको छ ।

मङ्गलवार होटेल शेर्पा बुटिक चुच्चेपाटीमा आयोजित कार्यक्रममा तामाङ आन्दोलनमा तामाङ संघसंस्थाहरुले मिडियालाई बोक्न नसकेको बताएका छन् । कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रीय अध्यक्ष सुवास योन्जनले हाम्रो आन्दोलनका समाचारहरू मूलधारका मिडियामा हाम्रो पत्रकार नहुँदा र सम्पादकीय तहमा समन्वय गर्न नसक्दा समाचार सम्प्रेषणमा कम्जोर भएको बताए । उनले त्यहाँसम्म पुग्ने क्षमता विकासदेखि सबैमा पोख्त हुनुपर्ने सुझाएका छन् ।

उक्त कार्यक्रममा सैलुङअनलाइनका सम्पादक एवं संघका केन्द्रीय सल्लाहकार इन्द्रकुमार तामाङले तामाङ प्रसारण दिवसलाई निरन्तरता दिँदै आएकोमा खुसी लागेको बताए । उनले मूलधारको मिडियाले हाम्रो आन्दोलनका समाचार लगायत विविध विषयलाई स्थान नदिएको अवस्थामा वैकल्पिक अथवा साना हाम्रै मिडियाले यस विषयमा गहन भूमिका खेल्नुपर्ने बताए । उनले नश्लिय सोच र चिन्तनको भाष्य किन र कसरी निर्माण हुन्छ ? त्यो लेभलको सामग्री तयारी गर्नु हाम्रो जिम्मेवारी रहेको बताए ।

मूलधार भनिएका मिडियाले स्थान नदिँदा तामाङ आन्दोलनलाई उठाउनका लागि वैकल्पिक मिडियाको रूपमा हाम्रो मिडिया तयार हुनुपर्छ ।’

कार्यक्रममा अनुसन्धानकर्ता  एवं लेखक खोजराज गोलेले तामाङ मुद्दा चिन्नका लागि मूलधारको पछि लाग्दा हाम्रा आँखा धुमिल हुने बताए । उनले तामाङ आन्दोलनलाई कतातिर लैजाने भनेको मिडियाको महत्त्वपूर्ण भूमिका हुने बताए । तामाङ आन्दोलनलाई हिजो‚ आज र भोलीको अवस्थालाई बुझेर मिडियाको मुख्य भूमिका रहेमा मात्र यसले सार्थकता पाउने गोलेले बताए ।

‘भगवती पाण्डेको भाष्य किन गलत छ ? त्यो खोज्नु जरुरी छ’‚ उनले भने‚ ‘लोम्ब्रोसोको वैज्ञानिक सिद्धान्तमा टेकेर बोल्यो‚ त्यो सिद्धान्त ठिक थियो कि थिएन‚ त्यो खोज्ने र पत्ता लगाउने जिम्मा चाहिँ पत्रकारको थियो । वास्तवमा लोमब्रोस्को सिद्धान्तको मूल्यमान्यता समाप्त भइसकेको अन्य विद्वानहरूले विगतमा नै खण्डन गरिसकेका छ ।’

तामाङ पत्रकार संघ काठमाडौँ  शाखाका सल्लाहकार एवं केन्द्रीय सदस्य युनिकरक्षे ग्लानले तामाङ आन्दोलनमा हाम्रो मिडिया नभएको महसुस भएको बताए । उनले हाम्रा भएका मिडिया समाचारहरू आए तापनि विचारहरू नआएको बताए । यसै गरी सल्लाहकार अर्जुनबहादुर तामाङले अहिले हाम्रो पनि मिडिया छन् तर साना लगानीका मिडियाहरू बचाउन सकस भइरहेको बताउँदै यसको लागि हाम्रो समुदायका व्यावसायिक विज्ञापनदाता‚ सहयोगी हातहरू खुलेर नभएको औँल्याए ।

कार्यक्रममा सैलुङअनलाइनका प्रबन्ध निर्देशक नवराज तामाङ र कार्यक्रम सफल पार्नका लागि समाजसेवी एवं व्यवसायी वीरबहादुर तामाङले आर्थिक सहयोग गरेका थिए । संघको पूर्ण बैठकले एक जना खाली रहेको सदस्य पदलाई मनोनीत गरेर पूर्णता दिएको छ भने ठोस कार्ययोजना बनाइ अध्यक्ष सन्तोष योेन्जनको अध्यक्षतामा बैठक सम्पन्न भएको तामाङ पत्रकार संघ काठमाडौँ  शाखाले  बताएको छ ।

SHARE