गोमाहरुको हुङ्कार

हिजोकी गोमा जस्तै आजका गोमाहरुको विवाह सात वर्षमा भएको छैन । यद्यपि समय र तौरतरिका फेरिए पनि गोमाहरु उसैगरी उत्पीडनमा छन् । आजका गोमाहरुको हुंकार अब अन्याय विरुद्ध गज्रिनुपर्छ र स्वअस्तित्वको लडाइँमा लड्नुपर्छ भन्ने सन्देश नाटकले छोडेको छ ।

समय अन्धकार छ । उज्यालोभन्दा अँध्यारोको छायाँमा शरीर र अस्तित्व गुमाएको पीडामा गोमा एक्लै रुन्छिन् । न्यायको लागि छटपटिएको उनको चित्कार कतै पुग्दैन । न्याय, प्रशासन सबै मौन रहन्छन् । उनको मृत शरीरको मुचुल्का बेवारिसे बनेर उठाइन्छ । जब गोमाहरुको अस्तित्व यसरी नै मेटिरहन्छ, तब असह्य हुन्छ अन्यायका घाउहरु । त्यसपछि गोमाहरु आफ्नै अस्तित्व रक्षाका लागि मैदानमा उत्रन्छन् र मानवरुपी दानवहरुको अन्त्य गर्छन् । कालिकास्थानस्थित सर्वनाम थिएटरको प्रेक्षालयमा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ नाटकले यसरी नै बिट मार्छ ।
सर्वनामको १९ औं ब्याचका प्रशिक्षार्थीहरुको प्रस्तुतिमा हाल नाटक मञ्चन भइरहेको छ । अग्रज रंगकर्मी अशेष मल्लको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन ब्याचका प्रशिक्षार्थीहरु द्वय रसिक राज र शीतल थोकरले गरेका छन् । नाटकभित्र मिथक र समकालीन समयको संयोजन छ । श्री स्वस्थानी व्रत कथामा सात वर्षिया गोमाको विवाह ७० वर्षिय वृद्धसँग भएको प्रसंगलाई लिएर आजको समयसँग यसको लेखाजोखा गरिएको छ । नाटकमा सात वर्षिया गोमा(शीतल थोकर)को चञ्चलता र बालापनलाई आजको समाजसँग जोडिएको छ । उनी आफ्नो गुडियासँग खेल्छिन्, रमाउँछिन् अनि बालापनको संसारमै खुसी छिन् । उनको त्यो बालापनलाई ७० वर्षिय वृद्धले चुँडिदिन्छन् । यसरी नै आजका गोमाहरु बलात्कार, हत्या, बाल विवाह, करणी जस्ता नामले उत्पीडनमा परि नै रहेका छन् ।
श्री स्वस्थानी व्रत कथाकी गोमा र आजका गोमाहरुमा कति अन्तर छ ?, हिजोकी एउटी गोमाका रुपहरु आज जताततै किन देखा परिरहेका छन् ? हिजोको ७० वर्षिय वृद्धको रुप आज भयंकर संख्यामा कसरी विस्तार भइरहेका छन् ? प्रशासन र न्यायलय समेत मूकदर्शक बनिरहेको यो समयमा अब गोमाहरु आफैं जाग्नुपर्छ कि पर्दैन ?’ भन्ने जस्ता प्रश्नहरु नाटकले उठान गरेको छ ।

हिजोकी गोमा जस्तै आजका गोमाहरुको विवाह सात वर्षमा भएको छैन । यद्यपि समय र तौरतरिका फेरिए पनि गोमाहरु उसैगरी उत्पीडनमा छन् । आजका गोमाहरुको हुंकार अब अन्याय विरुद्ध गज्रिनुपर्छ र स्वअस्तित्वको लडाइँमा लड्नुपर्छ भन्ने सन्देश नाटकले छोडेको छ ।
आज दिनदिनै जस्तो महिला हिंसा, बलात्कार, करणी, हत्या जस्ता घटनाहरु समाजमा घटिरहेका छन् । प्रहरी प्रशासन र न्यायलयकै अगाडि पीडकहरुको पक्षमा जयजयकार सुनिन्छ । पीडितहरु माइतीघरको सडकमा न्याय मागिरहन बाध्य छन् । ७० वर्षिय बृद्धबाट ७ वर्षकी बालिकाको बलात्कारको घटना अझै घटिरहेका छन् । यस्तो हिंस्रक प्रवृति विरुद्ध न्यायको हुंकारका लागि गोमाहरुको सशक्त उपस्थितिलाई नाटकले देखाउने जमर्काे गरेको छ ।
रंगमञ्चमा समूहको यो पहिलो नाट्य यात्रा हो । कथाको लयसँग दृश्यहरुमा अभिनयमा निकै बलियो रुपमा उपस्थिति जनाएको छ । अभिनय, बिम्ब, प्रयुक्त प्रप्स, प्रकाश र संगीत निकै सशक्त प्रस्तुति देख्न सकिन्छ । गोमाकी भूमिकामा देखिएकी थोकरले बाल चञ्चलतासँगै रौदन र उग्र रुपको भूमिकालाई उत्तिकै राम्ररी निभाएकी छिन् । उनी गुडिया खेल्दै गर्दा सानी बालिकाकै रुपमा देखिन्छिन् । बृद्धबाट शरीर लुटिएपछि उनको वियोगान्त अवस्थाले दर्शकलाई भावुक बनाउँछ । झण्डै अन्त्यतिर निकै शक्तिशाली भएर देखिएको उनको उग्र रुपले दर्शकलाई हौसला प्रदान गर्छ । हिंसा जस्तो उत्पीडनलाई मुख्य विषय बनाएको हुनाले नाटकका अधिकांश हिंस्रक दृश्यहरुमा रातो रङको प्रकाश प्रयोग गरिएका छन् । प्रप्सका रुपमा प्रयुक्त मुखौटाहरुमा अधिकांश समय रातो रङको प्रकाश नै देख्न सकिन्छ । ७० वर्षिय बृद्ध (सुरज पराजुली) पात्र जब गोमाहरुको अस्तित्व लुटेपछि मुखौटाहरुको झुण्डमा अर्काे मुखौटा थप्छन् । हिंस्रक प्रवृतिका व्यक्तिहरु असंख्य रुपमा समाजमा रहेको तथ्यलाई सेता रङका मुखौटाहरुले प्रतिबिम्वित गरेको छ । यसलाई नाटकमा महत्वपूर्ण बिम्बका रुपमा लिन सकिन्छ । ‘एउटा सानो मान्छे चुपचाप छ डरले’, अन्धकारलाई हटाउने उज्यालोको हाहाकार’, ‘काकाकुल छ समय यहाँ, आँखाहरुमा मात्र छ पानी’ जस्ता नाटकभित्र प्रयुक्त गीत र संवादहरु निकै अर्थपूर्ण एवं शक्तिशाली छन् ।

वर्तमानलाई मिथकसँग जोडिरहन सुत्रधार मार्फत गरिएको संवादले दर्शक दुवै समयप्रति सचेत बनिरहन्छन् । ‘गोमा कहाँ छिन् ?’ भनेर प्रश्न गर्दै गर्दा गोमालाई इंगित गदै आम दर्शकतिर गरिएको इशाराले सिंगो समाजलाई प्रतिनिधित्व गरिएको छ ।
दर्शकलाई मिथकप्रति पनि ध्यान केन्द्रित गर्न केही दृश्य लम्बाएको भए हुने भन्ने भान नाटक अगाडि बढ्दै गर्दा महसुस हुन्छ । हिंसात्मक दृश्यहरुलाई प्रत्यक्ष भन्दा प्रतिकात्मक रुपमा मञ्चमा प्रस्तुत गरेको भए अझै सुन्दर देखिन्थ्यो । सामाजिक तथा मानसिक रुपमा आम मानिसको स्वास्थ्यलाई ख्याल गर्दै केही नाटकहरुमा यस्ता प्रतिकात्मक दृश्यहरु प्रयोग अभ्यासमा देखिन्छ । सामाजिक तथा राजनीतिक विरोधमा सर्वनामले मितव्ययी रंग पद्धतिको शैली यो समूहमा पनि देखिन्छ । झकिझकाउ मञ्च र प्रप्स बिना नै कथा, पात्रलाई दृश्यमा सबल रुपमा देख्न सकिन्छ ।
मञ्चमा आकाश झा, बिल बहादुर बि.क., वाई.यस. पौडेल, सरस्वती दाहाल, सुरज अधिकारी, आरुष जंग सारु मगर, शू–गूँ, विध्यक तिलक, एलिशा तामाङ, युनिसा खनाल, जीवनराज भट्ट र विवेक भुसालको पनि अभिनय देख्न सकिन्छ । प्रकाश परिकल्पना कृष्ण खड्का, परिचालन प्रणव प्रकाश र कृपेश घिमिरेले गरेका छन् । नाटक बिहीबार बाहेक पुस १५ गतेसम्म मञ्चन जारी रहनेछ ।

SHARE