१९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेमाथि भइरहेका टिका टिप्पणीमाथि छलफल भएको छ ।शुक्रबार बसेको संसदीय दलको बैठकको छलफलको एजेण्डामा राखिएको विविधि अन्तर्गत सभापति रविमाथि आएका प्रश्नबारेमा छलफल भएको थियो ।
दर्ता भएका ४० विधेयक अन्तर्गत तपाईंको समिति अन्तर्गत के के पर्छन ? बन्ने कानुनमा पार्टीको वाचापत्रका समावेश भएका कुन कुन विषयहरु सम्बोधन गर्न सकिन्छ? र, तपाईंले यो संसद बैठकमा उठाउन चाहेका मुद्दाहरु के के हुनुक्छन्? भनि सभापति रविले लिखित पत्र पठाएका थिए । शुक्रबारको बैठकमा सभापतिले पठाएको तिन प्रश्नका सन्दर्भमा छलफल भएको थियो ।
बैठकले २१ वटा आयोजनाको सूची र दबाब यात्राको अगुवाइ गर्ने नेताको टुंगो लगाएको छ । कार्यदलबाट तयार भएको सूचीलाई संसदीय दलको बैठकले अनुमोदन गरेको हो ।
रास्वपाले २१ माघबाट दबाब यात्रा सुरु गर्दैछ । सभापति रवि लामिछानेले २१ गते दबाब यात्राको उद्धघाटन गर्ने भएका छन् । दबाब यात्राका लागि पहिलो आयोजनामा मेलम्ची खानेपानी आयोजनालाई छनोट गरिएको छ । सिन्धुपाल्चोकममा रहेको आयोजनास्थलदेखि रास्वपाले काठमाडौंसम्मको यात्रा गर्ने भएको छ ।