१८ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागका कर्मचारी र प्रहरीबीच कुटाकुट भएको विषयमा अध्ययन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।समितिका एक सदस्यका अनुसार, सुरुमा चेकजाँच गर्ने प्रहरी जवान रविरञ्जन गुप्तालाई पनि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा अध्यागमन अधिकृत छायालाल मुक्तानलाई विमानस्थलबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरिएको छ भने उनलाई कुटपिट गर्ने असई सञ्जय तामाङलाई पनि निलम्बन गरेर विभागीय कारबाही गर्न सिफारिस भएको छ ।
प्रतिवेदनमा आगामी दिनमा यस्ता विवाद आउन नदिन गर्नुपर्ने कामहरुबारे समेत उल्लेख गरिएको ती सदस्यको भनाइ छ ।
समितिका एक सदस्यका अनुसार, घटना भएको बेलाको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज र त्यसबेला आसपासमा रहेका अन्य अधिकृतहरुसँग समेत बयान लिएर छानबिनपछि कारबाहीका लागि सिफारिस गरिएको हो ।