महिला फुटबल लिग छनोट चैत अन्तिम सातादेखि सुर्खेतमा

एन्फा वुमन्स लिग फुटबल प्रतियोगिता आयोजनाका लागि सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले छलफल गरेको छ।महिला लिग छनोट र मुख्य लिग गरी दुई चरणमा आयोजना हुनेछ।

सातवटा प्रदेशका टोली भिड्ने र शीर्ष तीन टोलीले मुख्य लिगमा प्रवेश गर्ने गरी आगामी चैत २३ गतेदेखि कर्णाली प्रदेशको सुर्खेत जिल्लामा छनोट प्रतियोगिता हुनेछ। प्रतियोगिताको बासस्थान र यातायात खर्च एन्फाले व्यहोर्ने छ भने कर्णाली जिल्ला फुटबल संघ र सुर्खेत जिल्ला फुटबल संघले सहआयोजक रहनेछन्।

छनोटका लागि कर्णाली खेलकुद विकास परिषद्ले पनि आर्थिक सहयोग गर्नेछ। प्रतियोगिताको संयोजन पनि परिषद्ले गर्नेछ।एन्फाले आवश्यक टोली तयारी र छनोटका लागि प्रदेशहरूलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ।

एन्फाले मिसन फिफा महिला विश्वकप २०२७/३१ अन्तर्गत च्यासलको च्यासल स्टेडियममा महिला युवा एलिट एकेडेमी स्थापना गर्ने योजना एन्फाले सार्वजनिक गरेको छ ।

देशव्यापी रुपमा विभिन्न फुटबल एकेडेमी सञ्चालन गर्ने विषयमा केन्द्रित छलफलमा  धरान, बुटवल र मकवानपुरको सिस्नेरीस्थित बत्सलादेवी माविमा रहेका एकेडेमीमा ३०–३० जना पुरुष खेलाडीलाई समायोजन गर्ने निर्णय भएको थियो। रौतहटको महिला एकेडेमीले पनि ३० यू–१४ महिला खेलाडी राख्ने एन्फाको भनाइ छ।

SHARE