काठमाडौँ । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ ले देशभर एकल प्रदर्शनको अवसर पाएको छ। यसअघि सोही मितिमा रिलिज हुने भनिएका ‘२६ को आकडा’ र ‘डल्लेले इन्ट्री मार्यो’ सरेपछि फिल्मले सोलो रिलिजको फाइदा उठाएको हो।
सस्पेन्स, प्रेम र एक्सनको समिश्रणमा तयार पारिएको यस फिल्ममा बिराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, खुशी कार्की, सुपुस्पा भट्ट, दिनेश डीसी, सुधीर श्रेष्ठ, आशा पौडेललगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ। साथै, आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र शृङ्खला विष्टले बाल–कलाकारको रूपमा देखिएका छन्।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुति रहेको फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ भने कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन्। निर्देशक माइकल चन्दको यो डेब्यु निर्देशन हो, जसप्रति दर्शकको चासो पनि उल्लेखनीय देखिएको छ।
फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीतले थप आकर्षण बढाएको छ। काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनमार्फत देशभर वितरण भइरहेको फिल्मले पहिलो दिनमै राम्रो दर्शक उपस्थिति पाएको हल सञ्चालकहरू बताउँछन्।
दर्शक प्रतिक्रिया
फिल्म हेरेपछि अधिकांश दर्शकले कथा र एक्सन पक्षलाई सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषगरी बिराज भट्टको अभिनय र सस्पेन्स तत्वलाई रुचाइएको छ। सामाजिक सञ्जालमा पनि फिल्मप्रति उत्साहजनक प्रतिक्रिया देखिएको छ।
नयाँ वर्षको सुरुवातसँगै आएको ‘राम नाम सत्य’ले बक्स अफिसमा कस्तो व्यापार गर्छ भन्ने चासो बढ्दो छ। अहिलेको सकारात्मक माहोलले फिल्मको व्यापार बलियो हुने संकेत देखिएको छ।









