निर्देशक, अभिनेता तथा निर्माता निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई उचित शो नदिएको भन्दै केही साताअघि हलबाट चलचित्र उतारे ।
अनि हलको विकल्पतिर लाग्ने बताए । नभन्दै उनले एमएसएम ओटिटी प्लेटफर्ममार्फत चलचित्र सार्वजनिक गरे । त्यहाँ दर्शकले निश्चित शुल्क तिरेर विभिन्न चलचित्र हेर्न पाउँछन् ।
समाचार तयार पार्दा ‘बेहुली फ्रम मेघौली’लाई एक साताका लागि ७ डलर तिरेर हेर्न सकिन्छ भने एक दिनका लागि ४.९७ डलर । चलचित्रलाई करिब २० हजार पटक दर्शकले हेरेको निर्माता बस्नेतले सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन् । यस हिसाबले हेर्ने हो भने चलचित्रले कम्तिमा ९९ हजार ४०० डलर कमाएको छ ।
अहिलेको डलर भाउको हिसाब गर्दा १ करोड ३४ लाख ५७ हजार १०९ रुपैयाँ भन्दा केही बढी चलचित्रले कमाएको छ । तर यो अनुमानित कमाई हो । न्यूनतम एक जनाले एक दिनका लागि ४.९७ डलरको हिसाबले २० हजार दर्शकले हेर्दा अनुमान गरिएको रकम हो यो ।
यस्तै नेपाली रुपैयाँमा भने एक दिनका लागि रु. २९८.२० र एक साताका लागि रु. ४२० रहेको छ । यस हिसाबले हेर्ने हो भने २० हजार पटक हेर्दा न्यूनतम रु. ५९ लाख ६४ हजार चलचित्रले कमाएको देखिन्छ । यद्यपि चलचित्र नेपाल र नेपालबाहेकका विभिन्न मुलुकबाट हेरिएको हुनसक्छ । त्यसैले यहाँ गरिएको हिसाब अनुमानित मात्र हो ।
खास कमाई कति हो त्यो भने आधारिक रूपमा सार्वजनिक नगरेसम्म थाहा हुने छैन । चलचित्र असोज १७ गते हलमा रिलिज भएको थियो। हलबाट भने चलचित्रले दुई सातामा ४ करोड रूपैयाँ ग्रस कलेक्सन गरेको बताइएको थियो ।https://youtu.be/j2NXaiJSz-Y?si=z89Seoi0RagkKY14