स्थानीय तह कर्मचारी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सात दिने अल्टिमेटम दिएको छ । महानगरका कर्मचारीहरूलाई सात दिनभित्र तलब दिन संघले चेतावनीसहित अल्टिमेटम दिएको हो ।
संघका अध्यक्ष नारायणप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै एक साताभित्र कर्मचारीलाई तलब नदिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
आन्दोलनबाट सिर्जित परिणामको जिम्मेवार महानगर नै हुनुपर्ने संघको चेतावनी छ।
‘सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासका लागि पहल गनुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छृंखल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरी थप समस्याको सिर्जना गर्न उद्धत देखिनुले समस्या हल गर्नतर्फ होइन, आआफ्नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ’, विज्ञप्तिमा भनिएको छ।
महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा ३ महिनादेखि कर्मचारीले तलब पाएका छैनन् । त्यस्तै अन्य कामकाज पनि ठप्प भएको बताइएको छ ।
प्रमुख प्रशासकीयको विषयलाई लिएर केन्द्र सरकार र महानगरबीच टकराव चलेको छ ।









