दोलखाको अबिथान, जहाँ यसकारण बर्सेनि हँसिया चढाइन्छ

दोलखाको जिरी नगरपालिका ७, बज्युथान अर्थत ‘अबिथान’ भन्ने थान रहेको छ । जिरेल समुदायले शक्ति केन्द्रका रूपमा विश्वास गर्ने उक्त थानमा हँसिया चढाउने गरिन्छ । हँसिया नै चढाउनुको कारण छुट्टै छ । किंवदन्ती अनुसार परापूर्वकालमा जिरेल समुदायको पुर्खा हजुरआमा त्यहाँ बसेकी थिइन् । उनी निकै शक्तिशाली नारी थिइन् । उनको विवाहपछि श्रीमान्ले सताउन थाले । श्रीमानको पीडाबाट मुक्ति पाउन उनी माइती गाउँ फर्किएर बसिन् । त्यहाँ पनि श्रीमान् आउन थालेको थाहा पाएपछि उनले अर्को डाँडाँमै रोक्न हँसिया प्रहार गरिन् । र, श्रीमान् अर्को डाँडाँबाट उनी भएको डाँडाँमा आउन सकेनन् । सोही विश्वासका आधारमा जिरेल समुदायले बजुथानमा हँसिया चढाउने गर्छन् ।

उक्त किंवदन्ती समाजसेवी नीरबहादुर जिरेलले सुनाएका छन् । प्रस्तुत छ जिरेलले सुनाएको सो किंवदन्ती :

परापूर्वकालमा जिरेल थिइन् । उनी निकै शक्तिशाली थिइन् । उनले हालको गौरीशंकर गाउँपालिकामा पर्ने साविकको जुगु गाविसमा पर्ने स्थानमा विवाह गरेकी थिइन् । तर त्यहाँ उनलाई श्रीमानबाट राम्रो व्यवहार भएन । श्रीमान्ले सधैँ दुःख दिने, राम्रो व्यवहार नगर्ने भएपछि ती जिरेलकी चेली फर्केर माइत गाउँमा आइन् । त्यहीँ रहन बस्न थालिन् ।

हाल जिरी नपा ७ मा पर्ने बज्युथानमा रहँदा बस्दा पनि ती श्रीमान् आएर सताउन थालेपछि उनी छेतर्पा भन्ने स्थानमा गइन् । तर त्यहाँ पनि श्रीमान् पुगे । त्यसपछि फेरि उनी माइत गाउँ हाल बजुस्थान भनिने स्थानमा आइन् । त्यहाँ रहन बस्न थालिन् । पुनः त्यहाँ पनि श्रीमान् आउँदै गरेको उनले थाहा पाइन् । अर्कै डाँडाँमा आइपुग्दा उनले थाहा पाएपछि उनीसँग रहेको हँसिया प्रहार गरिन् । सो हँसिया प्रहारबाट श्रीमान् अर्कै डाँडाँमा रोकिए । बजुस्थान आउन सकेनन् । अहिले पनि ती जिरेल चेलीको सम्झनामा हँसिया चढाउने चलन रहेको छ । यसैगरी श्रीमान् रोकिएको स्थानमा ‘बाजेथान’ रहेको छ । तर उक्त बाजेस्थानलाई शक्तिपीठको रूपमा मानिएको छैन ।

सयपत्री फूल बजुस्थानमा चढाएर मात्र अरू कार्यमा प्रयोग
बजुस्थानमा सयपत्री फूल चढाउनुपर्छ । कुनै पनि पूजाआजा वा चेलीहरूले शीरमा लगाउनुपूर्व बजुस्थानमा सयपत्री फूल फुलेपछि पहिले चढाउनुपर्छ । नत्र न कुनै पूजा न शीरमा लगाउने गरिन्छ ? जहिले पनि पहिले बजुस्थानमै चढाएर मात्र अन्य काममा प्रयोग गरिन्छ । यो चलन जिरीका जिरेल समुदायमा रहेको छ ।

यसैगरी दशैँको फूलपातीको दिन पारेर यहाँका जिरेल समुदायले फूल, मकैको झुत्ता, चोखो जाँड र हँसिया चढाउन ल्याउने गर्छन् । त्यसरी चढाउन बाटो लागेपछि पुजारीको घरमा नपुगेसम्म पछाडि फर्केर हेर्न नहुने जनविश्वास रहेको छ । त्यसरी पूजारीको घर नपुगुन्जेल बोल्न पनि नहुने विश्वास रहेको छ । पूजारीको घरमा बजुस्थानमा चढाउने सामान बुझाएपछि र उनले विधि पु¥याएर पूजा गरेपछि चाहिँ बोल्न मिल्ने र पछाडि बाटोमा फर्केर हेर्न मिल्ने विश्वास रहिआएको छ । त्यसरी पूजारीले विधिपूर्वक पूजा सकेपछि बजुस्थानमा चढाउन ल्याइएका सामान थानमा चढाउने चलन रहेको छ ।

SHARE