“बधाई होइन, सुझाव दिनुहोस्” : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका महावीर पुनको अपिल

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन्। रोजगारी सिर्जना, नवप्रवर्तन र अनुसन्धानका क्षेत्रमा गरेको योगदानले परिचित पुन मन्त्रीमा सिफारिस भएपछि असामान्य शैलीमा जनसन्देश दिएका छन्।

पुनले मन्त्री बनेको खबर सार्वजनिक भएपछि बधाई र सम्मानका लागि लाग्ने भीडलाई रोक्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत अपिल गर्दै फोन गरेर ‘बधाई छ’ भन्नु वा खादा–माला लिएर भेट्न आउनुमा समय खर्च नगरी सिधै कामको सुझाव दिन अनुरोध गरेका छन्।

उनले भनेका छन्, “बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने र गर्नुपर्ने ठोस काम वा आइडियाहरू छन् भने मेरो ह्वाट्सएपमा पठाउनुहोस्।”

पुनले आफूलाई ‘मन्त्री’ भनेर सम्बोधन नगर्न आग्रह गर्दै, यदि भन्नै मन लागे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न सकिने बताएका छन्। उनको यस्तो सरल र व्यावहारिक अपिलले सामाजिक सञ्जालमा थप चर्चा पाएको छ।

SHARE