काठमाडौंको गल्ली बाटो नचिन्दा कर्म यात्रा मोडेर वेत तथा बाँस फर्निचर कारखाना चलाइरहेका कृष्ण बहादुर

२५ हजारबाट सुरु गरेको कारखाना बनिसक्यो ३० लाखको

अर्घाखाँची, सन्धीखर्क नगरपालिका–५ का कृष्ण बहादुर ०६६ सालमा काठमाडौं आए । त्यतिखेर उनी २० वर्षका थिए । क्याम्पस पढ्ने उमेरका उनी गाउँका आफन्त दाइसँग लागेर ‘पैसा कमाउन’ भन्दै काठमाडौं छिरेका थिए । उनले त्यतिखेर +२ को चाहिँ परीक्षा दिएका थिए । ‘लक्ष्मी र सरस्वती कहिल्यै सँगै हुँदैनन्’ भनेझैँ उनको पनि पैसा कमाउने सपना (लक्ष्मी)सँगै पढाइ (सरस्वती)ले बिट मार्‍यो । यद्यपि जीवन चलाउने कला थप सिक्न थाले । अहिले पनि सिकिरहेका छन् ।
काठमाडौं आए लगत्तै कृष्णले चौधरी ग्रुप (सिजी) को डिलरमा काम गरे । सातदोबाटोस्थित डिलरमा उनले तीन–चार महिना सेल्समेनको काम गरेका थिए । करिब चार महिनापछि उनलाई काम गर्न गाह्रो भयो । काठमाडौंमा भर्खरै आएको, यहाँका स्थानहरू थाहा नभएको, गल्लीगल्लीमा पुग्नुपर्ने । उनी ती गल्लीहरूसँग अपरिचित थिए । त्यसैले उनलाई काम गर्न गाह्रो भएको थियो ।

त्यही बेला आफन्त दाइले अरूको कारखानामा काम गर्न छाडेर वेत/बाँस फर्निचर बनाउने काम थाले । कृष्णलाई पनि उनै दाइले अफर गरे । आफूलाई पनि गाह्रो भइरहेको बेला उनले नाइँ भनेन् । ‘हुन्छ’ भने । त्यसपछि उनी वेत/बाँसको फर्निचर बनाउने कामतिर मोडिए । सातदोबाटोको सिन्जाहिटी भन्ने ठाउँमा दाइले सुरु गरेको फर्निचर कारखानामा काम गर्न थाले । त्यसले उनको काम मात्र मोडिएन, जीवन मोडियो ।

आफन्त दाइकै फर्निचर कारखाना भएपनि उनले सुरुमा ‘हेल्पर’को काम गरे । उनी काठमाडौंको लागि मात्र मात्र नभएर त्यस्ता कामका लागि पनि नौलो थिए । फर्निचरको काम जानेका थिएनन् । उनले सिक्न थाले । वेतका लामा–लामा घन टुक्राउन थाले । बाँस ताछ्न थाले । निगालोका घन नापेर टुक्राउन थाले । आगोमा सेकेर बङ्ग्याउन, सोझ्याउन थाले । काम गर्दै जाँदा उनले फर्निचर बनाउन थाले । खिरिलो सोफा बनाउन थाले । जीवनलाई पनि बुझ्दै गए । व्यापार पनि बुझ्दै गए । मान्छे चिन्न थाले । उनलाई पनि केही मान्छेले चिन्न थाले । उनको हातको सीपका कारण मान्छेले उनलाई चिन्न थालेका थिए ।

दाइको कारखानामा कृष्णले डेढ वर्ष जति काम गरे । त्यहाँ धेरै कुरा सिके । र्‍याक, दराज, कुर्सी, टेबल, सोफा आदि धेरै सिके । त्यति सिकेपछि थप एक कदम अघि सरे उनी । बालकुमारीमा उनले आफ्नै फर्निचर कारखाना सुरु गरे । सुरु गर्नुमा उनले चिनेका मान्छे बलियो आधार थिए । निगालो ल्याउनेले उनको सीप र मिहिनेत हेरेर ‘आफै पनि सुरु गर्न सक्छौ नि’ भन्थे । होलसेलर र डिलरहरूले पनि उनलाई त्यही कुरा भन्थे । उनीहरूले आफ्नै कारखाना सञ्चालन गर्न आँट दिइरहेका थिए । त्यही आँटले घरमा पैसा जोहो गरिदिन भनिरहेका थिए । एक दिन सटर भेटे । घरबाट बुवाआमाले ऋण खोजेर २५ हजार रुपैयाँ पठाइदिनुभयो । त्यही २५ हजारले उनले वेत/बाँस फर्निचर कारखाना सुरु गरे । त्यही पैसाले जन्मियो— ‘लुम्बिनी केन एन्ड ब्याम्बु फर्निचर’ त्यतिखेर उनीसहित एक जना उनका सहयोगी थिए । एक जना सहयोगी र उनी दुई जना मिलेर फर्निचर बनाउन थाले ।

बालकुमारीदेखि उनी सातदोबाटो सरे । सातदोबाटोमा पाँच–छ वर्ष फर्निचर बनाए । अझै पनि त्यहाँ फर्निचर कारखाना छ । कारखाना भन्दा पनि बिक्री गर्ने स्थलका रूपमा सञ्चालन भइरहेको छ । यद्यपि त्यहाँ रहेको कारखाना शाखाकै रूपमा उनले लिएका छन् । उनी बेलाबेला त्यहाँ पुग्ने गर्छन् । काम गर्नेहरू छन् । गाउँकै भाइहरू पनि काम गरिरहेका छन् ।

सातदोबाटोमा पाँच–छ वर्ष कारखाना चलाएपछि थप फराकिलो हुन मन लाग्यो उनलाई । माग पनि बढ्न थाल्यो, अनि उनले इमाडोलमा जग्गा भाडामा लिए । १० लाख जति लगानी थपियो । जग्गामा संरचनाहरू बनाउन त्यति खर्च भएको थियो ।

इमाडोलमा कारखाना सञ्चालन गरेको पनि नौ वर्ष भइसक्यो । कारखाना बालकुमारी र सातदोबाटोमा भन्दा फराकिलो छ । फर्निचर पनि धेरै बन्छन् । काम गर्ने कामदारी पनि थपिएका छन् । अहिले १६–१७ जनाको घरको रोटी यही कारखानाबाटै पाकिरहेको छ । उनीसँग ‘हात्ती गाडी’ पनि छ । काठमाडौं उपत्यका, काभ्रेलगायतका जिल्लामा उनी फर्निचर डेलिभरी गरिदिन्छन् । उनले कमाइ गर्दै गए । कारखानामा लगानी थप्दै गए । अझै गइरहेका छन् । थप्दै गएपछि सम्पत्ति थपिदै गएको छ । यति गर्दा उनीसँग अहिले ३० लाख बराबरको सम्पत्ति भइसकेको छ ।
–––

कृष्णलाई अहिले विभिन्न सहरहरूमा पनि फर्निचर कारखाना सञ्चालन गर्न भनिरहेका छन् । ‘विभिन्न ठाउँमा शाखा खोल्दिनुपर्‍यो भन्नुहुन्छ मलाई’, उनी भन्छन्, ‘धेरै सामान कट्ने ठाउँमा चाहिँ सोचिरहेको छु ।’ यसरी कारखाना सुरुवात गर्ने बेलाझैँ उनलाई आँट दिने मान्छेहरू पनि अझै उस्तै छन् । उनले पनि आँटिरहेका छन् । उनी भन्छन्— ‘सोचिरहेको छु, काठमाडौं बाहिर पनि खोल्छु होला ।’

(खुल्लापत्रका लागि सन्तोष निराले कृष्ण बहादुरसँग गरेको कुराकानीमा आधारित)

SHARE