जडीबुटीस्थित कोटेश्वर बहुमुखी क्याम्पसले आफ्नो विद्यार्थीको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ । यही चैत १५ गते राजावादीको आन्दोलनका दिन आफ्नो नियमित कामबाट फर्कदै गर्दा गोली लागेर एक छात्रा गम्भीर घाइते भएको जानकारी दिँदै क्याम्पसले उपचार र गोली चलाउनेलाई कारबाहीको मागसमेत गरेको छ ।
क्याम्पसमा व्यवस्थापन सङ्कायको स्नातक तेस्रो वर्षमा अध्ययनरत छात्रा रेबिका खत्रीलाई गोली लागेको र मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमो उनको उपचार भइरहेको क्याम्पस प्रमुख प्रकाश पोखरेलले जानकारी दिएका छन् । उनको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘कोटेश्वर बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्कायको स्नातक तह तेस्रो वर्ष बिहानी सत्रमा अध्ययनरत छात्रा रेबिका खत्री आफ्नो कर्मस्थलबाट डेरा फर्कने क्रममा अपराह्न करिब ३ बजेतिर एस.ओ.एस. बालग्राम, कोटेश्वर नजिक भित्री बाटोमा हिँडिरहेको अवस्थामा गोली लागेर गम्भीर घाइते भई निजामती अस्पताल, मिनभवनको सघन उपचार कक्षमा उपचार गराइरहेको जानकारी प्राप्त भएको हुँदा यस घटनाप्रति क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘गोलीकाण्ड घटाउने पक्षको तुरुन्त पहिचान गरी दोषी उपर कडा कारबाही गर्न नेपाल सरकार समक्ष माग गर्नुका साथै उपचाररत छात्रा रेबिका खत्रीको शीघ्र स्वास्थ्यलाभको कामनाका गर्दै उहाँको निःशुल्क उपचारको व्यवस्था गरिदिन नेपाल सरकारलाई अनुरोध गर्दछु ।’
रेबिकालाई तिघ्रामा गोली लागेको थियो। उनका दाजुलाई पनि गोलीको छर्रा लागेको प्रहरीले जानकारी दिएको छ।
बाटोमा हिँडिरहेको विद्यार्थीलाई गोली हानिएको भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले मंगलबार प्रदर्शनसमेत गरेका थिए।
तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाह समर्थित समूहले गरेको प्रदर्शनमा झडप भएको थियो । प्रदर्शनकारी तीनकुनेमा निजी घर, सञ्चारगृह, जडीबुटीस्थित जडीबुटी प्रशोधन कम्पनी, भाटभोटेनी सुपरस्टोरलगायतमा तोडफोड तथा आगजनी गरेका थिए ।
आगजनीमा परी एक पत्रकारको मृत्यु भएको थियो भने एक जना प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको थियो ।