नेपाल अफगानिस्तानसँग १३० रनले पराजित

नेपाल यु–१९ क्रिकेट टोली अफगानिस्तानसँग १३० रनले पराजित भएको छ ।

मूलपानी मैदानमा भएको खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै कमजोर हुँदा १३० रनको फराकिलो हार व्यहोरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३०० रन बनाएको थियो ।

३०१ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा सबै विकेट गुमाउँदै १७० रनमा समेटियो । नेपालका लागि ओपनर निरजकुमार यादवले अर्धशतक बनाए । उनले ६१ बलमा ५३ रन बनाए । त्यस्तै सन्तोष यादव र अशोक धामीले समान २४ रन बनाउन सके । अन्य ब्याटर भने अफगानी बलरसामु टिक्न सकेनन् ।

अफगानिस्तानका वाहिदुल्लाह जड्रान, जिआतुल्लाह सहीन र महुब खानले समान २÷२ विकेट हात पारे । यसअघि ब्याटिङ गरेको अफगानिस्तानका लागि फैजल शिनोजाडाले ९७ रन तथा खालि अहमदजाइले ७६ रन जोडे । त्यस्तै बर्कात इब्राहिम्जाइले ३५ रन बनाए । नेपालका लागि सन्तोष यादवले ३ तथा अभिशेक तिवारीले २ विकेट लिए । नेपाल र अफगानिस्तान यु(१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन् ।

छनोट अघि दुवै टोलीले ३ खेलको ५० ओभरको अभ्यास सिरिज खेलिरहेका हुन् । दोस्रो अभ्यास खेल आइतवार हुनेछ । एसिया छनोट अर्को साता नेपालमा सुरु हुँदैछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, युएई र ओमान टोलीको सहभागिता रहनेछ ।

SHARE