नौ श्रष्टालाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१’ प्रदान

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नौ विधामा  ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार – २०८१’ वितरण गरेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माको सभापतित्वमा सम्पन्न पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे विशेष अतिथि रूपमा सहभागिता रहेकाे थियाे  ।

राष्ट्रपति कार्यालयको प्रेक्षालयमा पुरस्कार समर्पण कार्यक्रम आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेल मार्फत पुरस्कार वितरण गरिएको हो ।

हरेक वर्ष सङ्गीत, नाटक तथा नृत्य विधामा महत्त्वपूर्ण योगदान पुर्याउने स्रष्टाहरूको पहिचान गरी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ प्रदान गर्दै आएको छ । प्रतिष्ठानले यसअघि नै, आफ्नो स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रममार्फत् पुरस्कृत स्रष्टा तथा सर्जकहरूको नामवली घोषणा गरेको थियो । उक्त घोषणाअनुसार आज (असार ११) गते पुरस्कृत स्रष्टाहरूमा पुरस्कार तथा सम्मानपत्र समर्पण गरिएको हो ।

पूर्व घोषणा अनुसार दिर्घ साधना सम्मान वरिष्ठ संगीतकार दिप श्रेष्ठलाई प्रदान गरिएको छ भने सङ्गीत विधातर्फको पुरस्कार वरिष्ठ गायिका कुन्ति मोक्तानलाई समर्पण गरिएको छ ।  लोकसङ्गीत विधातर्फको पुरस्कार वरिष्ठ गायक नारायण रायमाझीलाई समर्पण गरिएको छ । त्यस्तै, परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फको पुरस्कार सङ्गीत साधक कुशेश्वर राई, नाटक विधातर्फको पुरस्कार वरिष्ठ नाटककार वेदकुमारी न्यौपाने, रङ्गमञ्च विधातर्फको पुरस्कार वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा , नृत्य विधातर्फको पुरस्कार वरिष्ठ नृत्य निर्देशक भुवानदास श्रेष्ठ,वाद्यवादन विधातर्फको पुरस्कार वरिष्ठ तबला वादक राजु अग्रवाल तथा नृत्य  खोज तथा अनुसन्धान विधातर्फको पुरस्कार खोज तथा अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेललाई  प्रदान गरिएको छ । भने दिर्घ साधना सम्मान पुरस्कारको राशि जनही रु दूई लाख एक रुपैयाँ र नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार राशि जनही रु एक लाख एक रुपैयाँ सहित ताम्रपत्र रहेको छ ।

कार्यक्रममा  राष्ट्रपति पौडेलका साथै पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, नेपाली ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली लगायत सङ्गीत, नाट्य, कला तथा साहित्य क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

SHARE