शिक्षासेवी एवं लेखक टेकबहादुर जिरेलको कविता संग्रह ‘जिरीसिक्रीको सुसेली’ लोकार्पण भएको छ ।
जिरेलद्वारा लेखिएका कवितासंग्रह ‘जिरीसिक्रीको सुसेली’ आइतबार पर्यटन विकास बोर्डको हलमा एक समारोहबीच लोकापर्ण गरिएको हो । पर्यटन प्रवर्द्धन मञ्च, नेपालले प्रकाशन गरेको पुुस्तकमा जीवन दर्शन, मायाप्रेम र माटोप्रेम झल्काउने ७१ ओटा कविता सङ्ग्रहित छन् ।
कार्यक्रमकी प्रमुख वक्ता कवि ज्योति जङ्गलले जिरेलका कवितामा जन्मथलोको सुगन्ध भेटिएको प्रतिक्रिया दिइन् । ‘जिरीसिक्रीलाई काँधमा बोकेर हिँड्नु भएका टेक सरका कविताले जीवनप्रति आशावादी हुन सिकाउँछ’, उनले भनिन्, ‘यसमा उहाँले माटोलाई माया गर्ने रोडम्याप देखाउनु भएको छ ।’
त्यसैगरि कार्यक्रमको सुरुमै जिरी नगरपालिकाका मेयर मित्र जिरेलले कविलाई माला लगाएर सम्मान गरे ।कार्यक्रममा कवि एवम् आख्यानकार अनुपम रोशीले कवि टेकबहादुरसँग अन्तरसम्वाद गरेकी थिइन् । रोचक ढङ्गमा सञ्चालित कार्यक्रममा जिरेल भूमि जिरीको इतिहास, कवितायात्रा, प्रेमिल जीवन र जीवनसङ्घर्षका विविध आयामबारे प्रश्नोत्तर गरिएको थियो ।
कार्यक्रममा कवि टेकबहादुरसहित, डा. अभि सुवेदी, निर्मलमान तुलाधर, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति जयराज अवस्थी, नाटककार मनबहादुर मुखिया, साहित्यकारहरू रमेश श्रेष्ठ, शैलेन्द्र साकार, उषा शेरचन, सुलोचना मानन्धर, रोचक घिमिरे, मनोज गजुरेल, ज्योति जङ्गल, अनुुपम रोशी, पत्रकार शेखर खरेल र पर्यटन अभियन्ता लिलाराम खड्काले पुस्तक लोकापर्ण गरेका थिए ।
‘हामीले योगदानको जीवन बाँच्नु भएका स्रष्टाको सम्मानमा यो किताब प्रकाशन गरेका हौं’, प्रकाशन संस्थाका प्रमुख लिलाराम खड्काले भने, ‘समाजलाई उज्यालो देखाउने प्रतिभाको सम्मान गर्न पाउँदा हामी खुसी छौं ।’
‘जिरीसिक्री खोलाको सुुसेली’ जिरेलको पहिलो कृति हो । उनको आत्मकथा पनि रोचक एवम् प्रेरणादायी हुने देखिन्छ । त्यसैले कार्यक्रम उद्घोषणको क्षणमा पत्रकार अमृत भादगाउँलेले अनुरोध गरे, ‘टेक सर तपाईंको आत्मकथाले हामीलाई जीवनमा सत्कर्म गर्न प्रेरणा दिनेछ । त्यसैले आजैबाट आत्मकथा लेख्न सुुरु गरि हाल्नुस् है ।’
हार्डकभरमा छापिएको पुस्तकको मूल्य ४९९ रुपैयाँ राखिएको छ ।











