काठमाडौं — पर्यटन क्षेत्रको यातायात व्यवसायसँग लामो समयदेखि संलग्न भिम बहादुर गोले तामाङले आगामी कार्यकालका लागि पर्यटन यातायात व्यवसायी संघको नेतृत्वमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत तामाङले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै संघलाई सक्षम, पारदर्शी र व्यवसायमैत्री बनाउन प्रतिवद्ध रहेको बताए। उनले पर्यटन यातायात व्यवसायको गुणस्तर वृद्धि, नयाँ प्रविधिको प्रयोग, चालक तथा कर्मचारीको सीप विकास, र पर्यटकमैत्री सेवा प्रवर्धनलाई आफ्नो प्राथमिकता सूचिमा राख्ने बताए।
“पर्यटन र यातायात क्षेत्र देशको आर्थिक मेरुदण्ड हो, यसलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन सबैको साथ आवश्यक छ,” उनले भने। गोले तामाङले संघमा लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने र सदस्यहरूको अधिकार–हितको रक्षा गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
तामाङ नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा बिनोद तामाङ, उपाध्यक्षमा रामकुमार बस्नेत, महासचिवमा भरत तिमिल्सिना, सचिवमा टेक पुन मगर र कोषाध्यक्षमा तेजमान लामा लगाएतले पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै सदस्यहरुमा बाजीराम घिमिरे, हरि हुमागाई र विष्णु कार्की लगायतका छन् ।
संघभित्र अर्को समूहबाट प्रकाश सापकोटाको नाम चर्चामा छ। यो समूहले पनि प्यानल नै खडा गरेर निर्वाचनमा होमिने तयारी गरिरहेको स्रोतले जनाएको छ। संघको महाधिवेशनले पदाधिकारी सहित नौ जना कार्यसमिति चयन गर्नेछ ।
१३ सदस्यीय कार्यसमितिमा एक सह–कोषाध्यक्षसहित बाँकी सदस्यहरू भने अध्यक्षले मनोनयन गर्न पाउने विधानले व्यवस्था गरेको छ। संघको २२औं साधारण सभा आगामी भाद्र ३ गते हुँदैछ।।











