जेन–जीहरूलाई जेन–ड्याडको खुल्लापत्र

काठमाडौं — मोहन गोले तामाङ द्वारा लेखिएको खुल्लापत्र सामाजिक सञ्जालमार्फत व्यापक रूपमा साझा भइरहेको छ। पत्रले युवापुस्ताप्रति आत्म-समिक्षा, प्रशंसा र चेतावनी मिसाएर आन्दोलनलाई केवल प्रदर्शनभन्दा अगाडि सारेर दीर्घकालीन सुधारतर्फ केन्द्रित गर्न अनुरोध गरेको छ।

मोहन गोले तामाङ द्वारा लेखिएको खुल्लापत्र

प्रिय जेनजीहरू,
म जेनजी ड्याडको तर्फबाट एउटा चिठ्ठि लेख्दैछु । यो पत्र एकपटक पढ्नु ल । यो पत्र हुलाकबाट पठाउनु पर्ला भनेर टिकेट र खाम पनि किनिसकेको थिएँ । तर तिमीहरूले लडेर आज मुहार पुस्तिकामा नै हाल्न पाउने मेसो मिलायौ । यसकारण धेरै धेरै धन्यवाद छ । सबभन्दा पहिले त म माफी चाहन्छु । किनकि मैले तिमीहरूलाई सधैं केटाकेटी ठानेँ । आलोकाँचो छन् भन्ने सम्झे । धेरैपटक तिमीहरू केही बुझ्दैनौ, जान्दैनौ भनेँ । तिमीहरूलाई केही थाहा छैन भनेँ । यो गलत सावित भयो । जसरी निवर्तमान प्रधानमन्त्रीले जेनजी आन्दोलन सुरु हुनु दुई दिनअघिसम्म यस्तै यस्तै कुरा भनिरहेका थिए । मैले पनि सारमा त्यसभन्दा भिन्न हिसाबले तिमीहरूको मनोविज्ञानलाई पढिरहेको थिइनँ । ठिकै त भन्यो जस्तो लागिरहेको थियो । हुन त यो हामीले बुझेको भए अहिलेको यो अवस्था आउने पनि थिएन होला । प्रिय जेनजीहरू, तिमीहरूको भित्रभित्रै उकुसमुकुस भएर विकास भइरहेको चेतनालाई पढ्न नसकेकोमा म अत्यन्तै दुःखी छु ल ।

प्रिय जेनजीहरू,

तिमीहरूलाई बधाई पनि दिन चाहन्छु । किनकि हाम्रो पुस्ताले वर्षौ लगाएर गर्न नसकेको काम तिमीहरूले त केही घण्टामै फत्ते गरेर देखायौ । म स्मरण गराउन चाहन्छु– हाम्रो पुस्ताले मुख्यत दुईटा लडाई लड्यो । एउटा त तिमीहरू जन्मिनुअघि नै हामीले हाम्रो जेनजी उमेरमै २०४६ सालतिर एउटा लडाई लडेका थियौ । त्यसले बहुदलीय व्यवस्थालाई स्थापित ग¥यो । तर, शासकहरूले त्यो व्यवस्थालाई विद्रुप बनाइदिए । यतिसम्म कि जनयुद्ध जन्मिनेदेखि राजालाई शासनाधिकार सुम्पिनेसम्मको अवस्था निम्तियो । जसले गर्दा फेरि अर्कोपटक, २०६२ को अन्ततिर समावेशी लोकतन्त्र भन्दै १९ दिनसम्म लड्यौ । फेरि पनि उनीहरूलाई नै शासन चलाउनु भनेर सत्ताको बागडोर जिम्मा लगायौ । त्यसले गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समावेशी समानुपातिक थुप्रै सुव्यवस्थाहरू ल्यायौ । राम्रो गर्ने हो भने यसमा सबै कुरा थियो । फेरि पनि उनीहरूले उस्तै पाराले छोटे राजाको अभ्यास गर्न थाले । यसरी २०४६ सालदेखि २०८२ सम्म करिब ३५–३६ वर्ष एउटै उमेर समूह र एकैखाले चेतनाका मान्छेहरूको वरिपरि नेपालको राजनीति घुमिरह्यो । सुधार केही भएन । केही त गरे भन्ने पनि गरिन्छ तर त्यो काम राजनीतिक नेतृत्व नभएर कर्मचारीलाई नै यो देश जिम्मा लगाएको पनि गर्थे होलान् । यसलाई पछाडि फर्केर हेर्दा हामीले कम्तिमा हप्ता दिनदेखि महिनौ दिनसम्म पनि निरन्तर थुप्रै लडार्इँहरू लड्यौ । कुनै कुनै लडाई त १० वर्षसम्म लामो पनि लड्यौ । तर तिमीहरूले त दुनियाँ नै छक्क पार्नेगरी दुई दिनमा नै जाली, फटाहाहरूको सातोपुत्लो उड्नेगरी क¥यापझ्याप पारिदियौ । कस्तो तागत ? क्या चमत्कार जेनजी ।। यस अर्थमा तिमीहरूको पुस्ता हामीभन्दा निकै बलियो रहेछौ भन्ने लाग्यो । यसको थोरै जस हामीले लिँदा केही फरक पर्दैन होला । हामी जेन–ड्याडले खाडीको ५० डिग्री घाममा श्रम बगाएर भएपनि तिमीहरूको मसल बलियै बनाइदिएका रहेछौ । यसमा गर्व पनि लाग्छ ।

प्रिय जेनजीहरू,

आज तिमीहरूलाई म किन पनि यो पत्र लेख्दैछु भनेँ, विद्रोह त ग¥यौ तर विद्रोह सफल भएको छैन । यसलाई मेरो भाषामा भन्नुपर्दा विद्रोह मात्रै भएको हो । तिमीहरूको मनोभावना विपर्‍त चल्ने शासकहरू सत्ताबाट बाहिरिँदैमा त्यसलाई विद्रोह सफल भएको सूचक मान्न सकिँदैन । सफल विद्रोह त त्यो हो, जुन विद्रोहपछि तिमीहरूले उठाएको सवालहरू सम्बोधन हुनेछन् । जुन दिन देशको हरेक अंग, तहमा सुशासन कायम हुनेछ । घुसखोरी र भ्रष्टहरू ठाउँको ठाउँ कार्वाहीमा पर्नेछन् । समाजमा सामाजिक न्यायको प्रत्याभूति छाउनेछ । वर्ग, जाति, क्षेत्र, लिङ्गबीचको विभेदको जुन दिन समूल अन्त हुनेछ । त्यस दिन मात्रै विद्रोह सफल भएको मानिनेछ । त्यसैले विद्रोह भयो । यो यथार्थ हो । यसलाई सफल बनाउन सबैजना जुट्नू ल ।

प्रिय जेनजीहरू,

अर्को, विद्रोहको मौकामा चौका हान्न खोज्ने प्रतिगामी शक्तिहरूसँग सदैव टाढा रहनू । जसले पोखराको चौकमा ठडिएको प्रथम सहिद लखन थापामगरको सालिकदेखि इटहरीको समावेशी चौक तोड्नेसम्मका हर्कतहरू गरे । व्यक्तिको नीजि सम्पत्तिदेखि सार्वजनिक महत्वका सम्पदामा लुटपाट र आगजनी गरे । यो काम तिमी असली जेनजीले गर्नै सक्दैनौ । अहिले म देख्दैछु– तिनले यो विद्रोहको उपलब्धिलाई अन्तै मोड्न खोज्दैछन् । तिनकुने भिडन्तबाट तिल्मिलाएको त्यस्ता अनुहारहरूलाई चिनिराख्नू । तिनी उमेरले जेनजी भएपनि विचारले मभन्दा पनि बुढा हुन् । यति बुझ्नु कि, इतिहासको गति कहिल्यै पछाडि फर्किदैन । त्यसैले हाम्रो पुस्ताले खडा गरेको लोकतन्त्रको जगमा उभिएर अघि बढ्ने अझ उन्नत र असल व्यवस्थाको खोजी गर्नु । तिमीहरूको भाग्य र भविष्य यसैमा फल्ने, फुल्नेछ । जसको नेतृत्व, उसैको नीति भन्ने सिद्धान्त अनुसार देश तिमीहरूकै एजेण्डामा अघि बढ्नुपर्छ ल ।
प्रिय जेनजीहरू,
अर्को के कुरा सम्झाउन चाहन्छु भनेँ– मेरो पुस्ताले गरेको सङ्घर्षले केही कमाईहरू गरेको छ । जुन सम्पत्ति तिमीहरूको हर प्रगतिमा आवश्यक हुन्छ । त्यो कमाई (सम्पत्ति) को संरक्षण हुन्छ कि हुँदैन ? भन्ने चिन्ताले आज म धेरै पिरोलिएको छु । हिजो हामीले पनि थुप्रै लडाइँहरू लड्यौ । जसमा हजारौको बलिदानी भयो । त्यसले देशमा गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, लोकतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्व जस्तो ऐतिहासिक महत्वको कमाई ग¥यौ । हामीले पनि लडाईपछि त्यसको संरक्षण गर्ने मुख्य जिम्मेवारीमा बाबु पुस्तालाई नै बिराजमान गराएका थियौ । तर, तिनले हामीलाई नराम्रोगरी धोका दिएँ । तिनको कुबुद्धिले गर्दा ती मुद्दाहरूले फुल फेजमा काम गर्न पाएनन् । उल्टै व्यवस्था नै खराब भन्ने भाष्य निर्माण गरियो र तिमीहरूको कलिलो दिमागमा पनि त्यहीँ भर्न खोजिँदैछ । हामीले जस्तै आज तिमीहरूले पनि सत्तामा बज्यैलाई बिराजमान गराएका छौ । हुन त उमेर मुख्य कुरा होइन, मुख्य त चेतना हो । त्यस्तो नहोला भन्ने लाग्छ र नहोस् पनि । बाजेहरू विग्रे पनि व्यवहार र अनुभवले परिपक्व बज्यैहरू त्यस्तो हुन्न भन्ने लाग्छ । तै पनि आज मलाई हाम्रो पुस्ताले कमाएको त्यो सम्पत्ति तलमाथि होला कि भन्ने चिन्ता छ । बाबुआमाले दुःख गरेर कमाएको सम्पत्तिको संरक्षण गर्नु प्रत्येक असल सन्तानको कर्तव्य पनि हो । अब हाम्रो पुस्ताले योभन्दा धेरै कमाई गर्न सक्दैन होला । त्यसको सदैव संरक्षण गर्नु ल ।

प्रिय जेनजीहरू,

अँ अर्को कुरा लेख्न नै बिर्सेछु– आज तिमीहरू बीचमा फाटो ल्याएर जुधाउन केही धमिलो पानीमा माछा मार्न पल्केकाहरु सक्रिय भएको देख्छु । होस गर है । तिनले तिमीहरू मध्येकै कसैलाई मदन भण्डारीसँग तुलना गरिरहेका छन् भने कसैलाई दलाई लामाको ट्याग भिराउँदै छन् । यस्ता तत्वहरूसँग सधैं सचेत रहनू । कसैले कसैलाई देवत्वकरण गर्दैमा नहौसिनू । कसैले कसैलाई दानवीकरण गर्दैमा नआत्तिनू । जनताले मिहिन ढंगले मूल्याङ्कन गरिरहेका छन् । मेरो ख्यालमा तिमीहरु सबैजना बराबरी छौ । मिलेर अघि बढ्नू । हाम्रो त अब उमेर ढल्किन लाग्यो । घरले जा जा, बनले आइज आइज भन्ने उमेर समूहको हाम्रो पुस्ताबाट धेरै आशा नगर्नू । हामी त डाँडामाथिको घाम हौ । कुनबेला संसारलाई अन्धकार बनाएर अस्ताउँछौ, थाहा हुन्न । तिमीहरूको सपनालाई थिच्न खोज्ने कालो ढुंगो पल्टाउनु तिमीहरू नै एकजुट भएर लाग्नू । हामी लाठि टेक्दै छेउँमा उभिएर होस्टेमा हैसे गरौला । जोड गर युवा भनौला । देश, दुनियाँ तिमीहरूको हो । धेरै भत्किएको छ । पोखिएको छ । च्यातिएको छ । भौतिक संरचना मात्रै होइन, मन पनि फाटेको छ । यो सबैलाई जोड्ने, सिउने र उठाउने सामथ्र्य तिमीहरूसँग छ भन्नेमा म पूर्ण विश्वस्त छु ।
अन्तमा, सबैलाई भन्छु– यो देशमा परिवर्तनको नाममा धेरैपटक रगत बग्यो । धेरै आमाको कोख रित्तिए । सिन्दूर पुछियो । बालबच्चाहरू टुहुरा भए । त्यसको हिसाब गरेर साध्य छैन । तिमीहरूले लडेको यो विद्रोह नै अन्तिम, अन्तिम विद्रोह बनोस् । अब फेरि अर्को विद्रोह लड्न नपरोस् । जति रगत बग्यो, बग्यो । अब कहिल्यै पनि रगत बगाउनु नपरोस् । आजलाई यत्ति लेखेँ । आवश्यक प¥यो भने फेरि अर्को पत्र पनि पठाउँदै गरौला । धन्यवाद ।।

उही तिमीहरूको जेन–ड्याड
मोहन गोले तामाङ

मोहन गोले तामाङले पत्रमार्फत युवा आन्दोलनको ऊर्जा र तीव्रता प्रति सम्मान प्रकट गर्दै पनि त्यसलाई दीर्घकालीन संरचनात्मक सुधार र सामाजिक न्यायतर्फ रूपान्तरण गर्ने चुनौतीमा जोड दिएका छन्। उनले आन्दोलनका हिंसात्मक वा विभाजनकारी प्रयोगहरूबाट सचेत रहन युवालाई आग्रह गरेका छन् र विगतमा आर्जित संवैधानिक–सामाजिक उपलब्धिहरूको संरक्षणप्रति चेतावनी दिएका छन्।

सामाजिक सञ्जाल र जनताका बीचमा यो पत्रले विवाद र सराहना दुवै उत्पन्न गरेको देखिन्छ — कतिले यसलाई बुद्धिमानीपूर्ण अभिभावकीय सन्देश भनेका छन् भने कतिले यसको व्यावहारिक कार्यान्वयन र नेतृत्‍वबारे थप स्पष्ट योजना माग्दै छन्।

SHARE