भाइटिकाको अवसरमा पूर्वसभामुख कृष्णबहादुर महराकी छोरी कुश्मा महरा ‘प्रगति’ ले बुवाप्रतिको माया, पीडा र न्यायको माग सहित एक भावुक खुला पत्र लेखेकी छन्।
पत्रमा उनले भाइटिकाको खुसीमा पनि आफू र परिवारले अनुभूत गरेको पीडा व्यक्त गर्दै बुबा कृष्णबहादुर महरालाई “सत्य, निष्ठा र इमानदारीको प्रतीक” बताएकी छन्। उनले लेखेकी छन्, “सुशासनको पगरी गुथेका शासकहरूले गर्दा न्यायालय नै निसाफ हराएको वस्तु जस्तो बनेर बुवालाई चार दिवारभित्र कैद गरिएको छ।”
कुश्माले पत्रमा सरकार र आफ्नै पार्टी दुवैप्रति गम्भीर प्रश्न उठाएकी छन्। उनले एमसिसी प्रकरणपछि बुवामाथि राजनीतिक षड्यन्त्र र बारम्बारको कानुनी कारबाहीलाई “प्रतिशोधपूर्ण कदम” भन्दै आक्रोश पोखेकी छन्।
उनले लेखेकी छन्, “सरकार बदलिँदा हरेकपटक बुवालाई निशाना बनाउनु किन ? के इमानदार र सोझो हुनु अभिशाप हो ?”
त्यस्तै उनले पार्टी नेतृत्वप्रति पनि असन्तुष्टि जनाउँदै माओवादीभित्रको मौनता र गुटीय स्वार्थको आलोचना गरेकी छन्। उनका अनुसार, “आफ्नै पार्टीको नेतृत्व जेल जाँदा पनि चुप लाग्ने प्रवृत्ति दुःखद र आत्मकेन्द्रित मानसिकताको परिचायक हो।”
पत्रको अन्त्यमा उनले लेखेकी छन्, “यो दिपावलीमा सबै खुशी छन्, तर म रोएकी छु। मेरो पीडा सत्ता र पार्टी नेतृत्वको वेवास्ताले हो। सत्य र न्यायको जीत अवश्य हुनेछ।”










