नेकपा एमालेको जारी ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ८ बजेदेखि मतदान हुँदैछ। प्राविधिक कारणले मंगलबार सरेको मतदान भृकुटीमण्डपमै अन्य स्थानमा सञ्चालन हुनेछ।
महाधिवेशनमा सहभागी २ हजार २६२ प्रतिनिधिले रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरी मतदान गर्नेछन्। एक मतदातालाई मतदान गर्न ३५–४० मिनेट लाग्ने अनुमान छ।
विद्युतीय प्रणाली भएकाले मतदान सकिएको करिब २ घन्टाभित्र नतिजा सार्वजनिक हुने बताइएको छ। यस महाधिवेशनबाट अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव, ९ सचिव र ३०१ केन्द्रीय सदस्य चयन हुनेछन्।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ भने विभिन्न पदमा बहुसंख्यक नेताहरू उम्मेदवार रहेका छन्।










