उनी आज पनि हाँस्दै भन्छन् “घरपालुवा दुम्सी काटेर खुवाएर चुनाव जितेको हुँ।” : खम्बा सिं तामाङ

दोलखाको पहाडी भेगमा हुर्किएका खम्बा सिं तामाङको राजनीतिक जीवन त्यही समयको कथा हो-जहाँ अक्षर कागजमा होइन, जीवनमा लेखिन्थ्यो।

खम्बा सिं तामाङ पञ्चायत कालको राजनीतिबाट खारिएका व्यक्ति हुन्। २०१७ सालतिर पञ्चायत व्यवस्था स्थापना भयो। उनी भने २०३७ सालबाट सक्रिय राजनीतिमा जोडिए। त्यो समय दल थिएनन्, तर सत्ता थियो; बहस थिएन, तर आदेश थियो। राजनीति विचारको बहाव होइन, अनुशासन र डरको कठोर मैदान थियो। तर त्यही समय पनि केही मान्छेहरू थिए, जो आदेशभन्दा जनताको पीडालाई ठूलो मान्थे। खम्बा सिं तामाङ त्यस्तै पात्र थिए-शान्त, तर अडिग।

झन्डा, जोखिम र १८८ मतको भरोसा

२०४५ साल। खम्बा सिं तामाङले वडा अध्यक्षको निर्वाचन जिते। आजको दृष्टिले हेर्दा त्यो चुनाव सानो लाग्न सक्छ, तर त्यो समयको चुनाव पूरै गाउँको भरोसाको तराजु थियो।
उनी आज पनि हाँस्दै भन्छन् “घरपालुवा दुम्सी काटेर खुवाएर चुनाव जितेको हुँ।”

त्यो चुनावमा उनले १८८ मत प्राप्त गरे। न माइक थियो, न पोस्टर। प्रचार भनेको मान्छे मान्छेकै घर पुगेर बोल्नु थियो। झन्डा बोकेर हिँड्नु जोखिम थियो-कहिले डर, कहिले दबाब। तर त्यही जोखिमको बाटो हुँदै उनले खुकुरी चिह्नबाट चुनाव जिते। खुकुरी केवल चुनाव चिह्न थिएन, त्यो समयको साहस, कठोरता र प्रतिरोधको प्रतीक थियो।

त्यो बेला वडा कार्यालय थिएन। सबै प्रशासनिक काम पञ्चायत कार्यालयबाटै हुन्थ्यो। वडा भन्ने संरचना कागजमा सीमित थियो। आदेश नमाने ‘घोक्रे ठ्याक्क’ लाग्ने समय थियो। कानुनभन्दा ठूलो थियो-हुकुम। तर खम्बा सिं तामाङले डर र दबाबलाई जनताको काम गरेरै कमजोर बनाइदिए।

कचहरीको राजनीति

पञ्चायत कालको गाउँमा आजको जस्तो अदालत थिएन। थियो-कचहरी।चार–पाँच जना पञ्च बसेर झगडा मिलाइन्थ्यो। पानीको कुलो, सिमानाको झमेलो, बाटोको विवाद-सबै कुरा गाउँमै टुंग्याइन्थ्यो। प्रहरी चौकीको त्यति ठूलो भूमिका थिएन। न्याय कागजमा होइन, विश्वासमा टेकेर हुन्थ्यो।

खम्बा सिं तामाङ कचहरीका विश्वसनीय नाम थिए। उनको नाम लिँदा मानिसहरू ढुक्क हुन्थे “खम्बा सिं ले मिलाइदिन्छ।”
त्यही विश्वासका कारण छिमेकी गाविसहरूमा समेत उनको लोकप्रियता उस्तै थियो। राजनीति त्यतिबेला पदको होइन, पहिचान र भरोसाको विषय थियो।

माटोमा लेखिएको शिक्षा

खम्बा सिं तामाङको औपचारिक शिक्षा शून्य छ।“माटोमा लेखेर क, ख सिकेको हुँ,” उनी भन्छन्, “त्यही हो मेरो शिक्षा।”तर चेतना कहिल्यै शून्य रहेन।उनको राजनीतिक चेतनामा ठूलो प्रभाव पार्ने व्यक्ति थिए-वीर बहादुर तामाङ अर्थत वीरे प्रधान। त्यो बेला उनी पञ्च्य प्रधान थिए। गैरिमुदी टार, नयाँ पुल हुँदै चरिकोट पुग्ने बाटो- काम सकेर साँझ घर फर्किने दिनहरू। ती बाटाहरू केवल दूरी थिएनन्; ती राजनीतिक अभ्यास, संवाद र जीवन शिक्षाका खोलाहरू थिए।

१५ हजारको बजेट र पसिनाको विकास

खम्बा सिं तामाङको कार्यकालमा वार्षिक बजेट मात्र १५ हजार रुपैयाँ थियो। चार वर्षमा जम्मा ६० हजार रुपैयाँ।
तर त्यो सानो रकम ठूलो सपनाको बीउ बन्यो।धनमाले विद्यालय स्वीकृत गरियो,भकिम्ले खानेपानी आयोजना सुरु गरियो
,च्याने खोलाबाट फुन्पिङसम्म सिँचाइ कुलो पुर्‍याइयो,भकिम्ले हुँदै त्रिशुले गाउँसम्म सिँचाइ विस्तार गरियो

आजको ६० लाख रुपैयाँको वडा बजेटले पनि त्यति काम गर्न नसक्ने अवस्था देख्दा उनी भन्छन्-“त्यो बेला पैसा कम थियो, तर श्रमदान धेरै थियो।”त्यो समय न बिजुली थियो, न सडक। मोबाइल, सामाजिक सञ्जाल त परको कुरा। बजेट निकासा गर्न निर्णय गरेर तोक लगाउनुपर्थ्यो। तर काम रोकिएन। कारण थियो-जनताको श्रम, पसिना र सामूहिक विश्वास।

पञ्चायतपछि पनि नथाकेको राजनीति

पञ्चायत व्यवस्था समाप्त भएपछि धेरैले राजनीति छोडे। खम्बा सिं तामाङले छोडेनन्।सुरुमा उनी माओवादी पार्टीबाट खुलेर काम गरे। त्यसपछि नेकपा एमाले र नेपाली कांग्रेससँग पनि जोडिए।उनका लागि पार्टी परिवर्तन अवसरवाद थिएन। उनका लागि राजनीति दलभन्दा माथि समाज थियो।

“राजनीति गर्न पनि सिक्नुपर्छ,” उनी भन्छन्,“राजनीति नशा हो। राजनीति गर्न सबैथोक त्याग गर्न सक्नेले मात्र गर्छ। धैर्यता चाहिन्छ।”आज उनी कुनै औपचारिक पदमा छैनन्। तर सामाजिक काममा निरन्तर सक्रिय छन्। कुर्सी छैन, तर जनताको सम्मान अझै बाँकी छ।

समयको ऐनामा हेर्दा

आजको राजनीति धेरैजसो पोस्ट, प्रचार र पहुँचमा सीमित देखिन्छ।तर खम्बा सिं तामाङको जीवनले सम्झाउँछ-राजनीति सेवा हो, सेल्फी होइन।राजनीति विश्वास हो, विज्ञापन होइन।उनको कथा कुनै पदको इतिहास होइन।यो त एक समयको राजनीतिक संस्कार,माटोमा लेखिएको लोकतन्त्र,र पसिनाले बनेको विकासको जीवन्त दस्तावेज हो।खम्बा सिं तामाङ आज पनि उही गाउँ, उही माटोसँग जोडिएका छन्। उनी राजनीतिका ‘स्टार’ होइनन्-राजनीतिका जरा हुन्।

SHARE