तीर्थयात्री बोकेको बस दुर्घटनामा ७ जना तीर्थालुको मृत्यु

२६ जना तीर्थयात्री बोकेको मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस बुधबार मध्यराति बारामा दुर्घटना भयो। दुर्घटनामा ७ जना तीर्थालुको मृत्यु भएको छ।

बारा प्रहरी प्रमुख, एसपी होबिन्द्र बोगटीका अनुसार भारतीय तीर्थयात्रीहरू जनकपुरधाम, काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका थिए। बस सडकबाट १५ मिटर तल खसेको थियो।

तीनजनाको घटनास्थलमै र चारजनाको उपचारको क्रममा हेटौँडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको थियो। घाइते १९ जनाको हेटौँडालगायत अन्य अस्पतालमा उपचार भइरहेको एसपी बोगटीले जानकारी दिए।

तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक आकलन छ। बस दुर्घटनापछि चालक र सहचालक दुबैजना फरार थिए। उनीहरू भागेर धनुषा पुगेका थिए। प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। मृत्यु भएकामध्ये ३ जनाको सनाखत भएको छ।

महोत्तरी लोहारपटिट् स्थायी वतन भएका अन्दाजी ४१ वर्षका विजयलाल पण्डितको दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ।

मृत्यु हुनेमा ६ जना भारतीय नागरिक रहेका उनीहरूमध्ये दुईजनाको मात्रै सनाखत भएको छ।

भारत राजस्थान घर भएका अनुमानित ६७ वर्षका बहादुर सिंह र राजस्थान नै बस्ने अन्दाजी ६५ वर्षकी मीरादेवी सिंहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

SHARE