३६ वर्षसम्म सुरक्षाकर्मीको हात बाँधियो : गृहमन्त्री गुरूङ

काठमाडौं । गृहमन्त्री बनेयता आक्रामक रूपमा सुरक्षा र कानुनी कारबाहीलाई अघि बढाएका सुधन गुरूङले विगत तीन दशकभन्दा बढी समयसम्म सुरक्षाकर्मीलाई स्वतन्त्र रूपमा काम गर्न नदिइएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रहरी प्रशासन दलीय प्रभावमा राखिएको र निर्बाध रूपमा काम गर्न अवरोध गरिएको संकेत गरेका हुन्। “३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ,” उनले लेखेका छन्।

गृहमन्त्री गुरूङले पद सम्हालेपछि कानुनी कारबाहीलाई तीव्रता दिँदै आएका छन्। विशेषगरी, गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न समूहविरुद्ध प्रहरी सक्रिय रूपमा परिचालित भएको छ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा आएपछि प्रहरी प्रशासनले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा निगरानी बढाएको छ। यससँगै अवैध गतिविधिमा संलग्न व्यक्तिहरूमाथि नियन्त्रणका अभियान तीव्र पारिएको जनाइएको छ।