चोरीपछि अमेरिकासम्म पुगेको बुद्ध मूर्ति पुनः मूल आसनमा स्थापित

काठमाडौं । काठमाडौँ महानगरपालिका–२३ जोरगणेश ओम बहाल टोलस्थित न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भई अमेरिकासम्म पुगेको बुद्धको मूर्ति अन्ततः मूल आसनमै फर्काइएको छ।

शुक्रबार बुद्ध जयन्तीको अवसर पारेर मूर्तिलाई विधिवत रूपमा विहारमा पुनःस्थापना गरिएको महानगरपालिकाले जनाएको छ। २०७८ फागुन १८ गते नै नेपाल फिर्ता ल्याइएको उक्त मूर्ति चोरीपछि अमेरिकाको न्यूयोर्कस्थित टिबेट हाउस कलेक्सनमा पुगेको थियो।

पुरातत्व विभाग र नेपालका सम्पदा अभियानीहरूको सक्रिय पहलमा मूर्ति स्वदेश फर्काएर राष्ट्रिय संग्रहालयमा सुरक्षित राखिएको थियो। पछि मूर्तिलाई पुनः पुरानै स्थानमा स्थापना गर्न महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पहल गरेकी थिइन्।

यसै क्रममा डंगोलसहित वडा–२३ का वडाध्यक्ष मचाराजा महर्जन, पुरातत्व विभागका प्रतिनिधि, न्हुछे बहाका गुठियार अमर शाक्य, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ तथा अधिवक्ता एवं अभियन्ता सञ्जय अधिकारी वैशाख १७ गते संग्रहालय पुगेका थिए।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० (क) अनुसार मूर्तिको संरक्षण र सुरक्षाको जिम्मेवारी सम्बन्धित गुठियारलाई दिने प्रक्रिया पूरा गरेपछि राष्ट्रिय संग्रहालय प्रमुख अरुणा नकर्मीले मूर्ति हस्तान्तरण गरेकी थिइन्।

त्यसपछि मूर्तिलाई अस्थायी रूपमा हनुमानढोका हेरचाह अड्डामा राखिएको थियो। वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर बाजागाजासहित हनुमानढोकाबाट विहारमा ल्याई मूल आसनमै पुनःस्थापना गरिएको हो।

स्थानीयवासी र सम्पदा अभियानीहरूले मूर्तिको पुनःस्थापनालाई सांस्कृतिक पुनर्जागरणको महत्वपूर्ण उपलब्धि मानेका छन्।