काठमाडौं। युवा व्यवसायी बिरु लामाले बुद्धचित्त माला खेतीमा सफलता पाउन बिरुवाको सही पहिचान र भूगोलको छनोट सबैभन्दा महत्वपूर्ण हुने बताएका छन्। पछिल्ला वर्षमा धार्मिक तथा व्यवसायिक दुवै प्रयोजनका लागि बुद्धचित्त मालाको माग बढ्दै गएपछि यसको खेतीतर्फ किसान र लगानीकर्ताको आकर्षण बढ्न थालेको छ।
लामाका अनुसार बुद्धचित्त खेती “बिरुवा रोप्दैमा” सफल नहुने व्यवसाय हो। “बुद्धचित्त माला बिरुवा मात्रै भनेर हुँदैन, चिनेर रोपे मात्रै राम्रो उत्पादन लिन सकिन्छ,” उनले भने। उनका अनुसार बजारमा गुणस्तर नबुझी जुक्किएर बिक्री गर्ने प्रवृत्ति पनि रहेकाले ग्राहक आफैं सचेत हुनुपर्ने आवश्यकता छ।
उनले ‘नो साउन्ड’ भनेर चिनिने बुद्धचित्तको विशेष प्रकार अहिले बढी खोजिने बताए। “११ एमएमभन्दा मुनिको दाना नबज्ने खालको हुन्छ, तर आकार मात्रै होइन, बनावट र गुणस्तरले पनि फरक पार्छ,” उनले भने। सामान्य बिरुवाको मूल्य दुई हजार रुपैयाँदेखि सुरु हुने भए पनि ग्राफ्टिङ गरिएको बिरुवाको मूल्य कम्तीमा १५ हजार रुपैयाँभन्दा माथि पर्ने उनले जानकारी दिए।
उनका अनुसार ग्राफ्टिङ प्रविधिबाट तयार गरिएको बिरुवाले छिट्टै उत्पादन दिन्छ। “सामान्य बिरुवाले दुई–तीन वर्षपछि उत्पादन दिन थाल्छ भने ग्राफ्टिङको बिरुवाले त्यही वर्षदेखि फूल खेल्न सुरु गर्छ,” उनले भने। सानो रुखमै फल लाग्न थालेपछि व्यवसायिक किसानको आकर्षण ग्राफ्टिङतर्फ बढेको उनको भनाइ छ।
तर उत्पादन खर्च पनि उत्तिकै महँगो पर्ने उनले बताए। “खर्च धेरै लाग्छ, ५० प्रतिशत पनि बचत नहुन सक्छ, त्यसैले बिरुवा महँगो पर्न जान्छ,” उनले भने।
लामाका अनुसार बुद्धचित्त खेती नेपालका धेरै स्थानमा सम्भव भए पनि सबै ठाउँमा समान गुणस्तरको उत्पादन हुँदैन। समुद्री सतहबाट ८ सय मिटरदेखि १५ सय मिटर उचाइसम्मको भूभाग यसको लागि उपयुक्त मानिन्छ। “चीनसम्म उत्पादन भएको पाइयो, तर त्यहाँ र यहाँको गुणस्तर फरक भेटियो,” उनले भने, “नेपालमै पनि ठाउँअनुसार गुणस्तर फरक पर्छ।”
उनले ‘नो साउन्ड’ प्रकारका बिरुवालाई रुखो तथा ओसिलो जमिन उपयुक्त हुने बताए। त्यस्ता बिरुवा बढ्न समय लाग्ने भए पनि गुणस्तरीय उत्पादन दिन सक्ने उनको अनुभव छ। मलिलो र खेतीयोग्य जमिनमा भने ‘मुखे’ प्रकारका बिरुवा छिटो बढ्ने र उत्पादन पनि चाँडै सुरु हुने उनले बताए।
अहिले तेमाल क्षेत्रमा उत्पादन भइरहेको बुद्धचित्तका बिरुवा बनेपा र काठमाडौंबाट सम्पर्क गरेर लैजान सकिने लामाले जानकारी दिए। धार्मिक आस्थासँग जोडिएको बुद्धचित्त माला अब विस्तारै व्यवसायिक खेतीको नयाँ सम्भावनाका रूपमा अघि बढ्न थालेको छ।









