तामाङ मिडिया अवार्डबाट जगतमान र जमुना सम्मानित

काठमाडौँ । ३२औँ तामाङ प्रसारण दिवसका अवसरमा तामाङ पत्रकार संघीय समितिले पत्रकारद्वय जगतमान तामाङ (काभ्रे) र जमुना तामाङ (मकवानपुर)लाई ‘तामाङ मिडिया अवार्ड–२०८३’बाट सम्मान गरेको छ।

संघले आयोजना गरेको मिडिया अवार्ड वितरण समारोहमा प्रतिनिधिसभा सदस्य परशुराम तामाङ र संघका अध्यक्ष नेत्र तामाङले दुवै पत्रकारलाई जनही १० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरे।

वि.सं. २०६४ सालमा रेडियो नमोबुद्धबाट पत्रकारिता सुरु गरेका जगतमान तामाङ काभ्रेपलाञ्चोकको तेमाल निवासी हुन्। उनी रेडियो नमोबुद्धमा समाचार सम्पादक तथा वाचकका रूपमा काम गर्नुका साथै तामाङ र अन्य भाषाका कार्यक्रम उत्पादन तथा सञ्चालन गर्दै आएका छन्। हाल उनी रेडियो नमोबुद्धका स्टेसन म्यानेजर छन्। उनी नेपाल टेलिभिजनबाट प्रसारण हुने तामाङ भाषाको कार्यक्रम ‘ल्हास्सो’का निर्माता तथा प्रस्तुतकर्ता पनि हुन्।

सम्मान ग्रहणपछि जगतमानले तामाङ मात्र नभई नेपालका सबै आदिवासी जनजातिको भाषाको विकासमा राज्यले भूमिका निर्वाह गर्नुपर्ने बताए। मातृभाषा संरक्षण समुदायको मात्र नभई राज्यको समेत दायित्व भएको उनको भनाइ थियो।

त्यसैगरी जमुना तामाङले वि.सं. २०७६ सालमा ‘समृद्ध समाज दैनिक’बाट पत्रकारिता सुरु गरेकी हुन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ स्थायी घर भएकी उनी विभिन्न रेडियो, अनलाइन तथा पत्रपत्रिकामा काम गर्दै हाल बागमती प्रदेशको राजधानी हेटौँडाबाट हिमालय टेलिभिजनकी संवाददाताका रूपमा सक्रिय छन्।

तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष रविन्द्र तामाङको संयोजकत्वमा गठित समितिको सिफारिसमा दुवै पत्रकारलाई अवार्ड प्रदान गरिएको हो। समितिमा संघका प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष सुवास योञ्जन र महासचिव सरस्वती तामाङ सदस्य थिए।

समारोहमा प्रतिनिधिसभा सदस्य तामाङले तामाङ सञ्चारको इतिहास र तामाङ भाषामा समाचार प्रसारण सुरु गर्दाको संघर्ष स्मरण गर्दै प्रसारण दिवस तामाङ सञ्चार क्षेत्रका लागि महत्वपूर्ण दिन भएको बताए। मातृभाषाको संरक्षण र विकासमा राज्यले विशेष जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।

अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, तामाङ सञ्चार क्षेत्रकी ऐतिहासिक व्यक्तित्व रमिता बल, संघका सल्लाहकार विष्णु तामाङ, नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन तामाङ, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा लगायतले प्रसारण दिवसको शुभकामना दिँदै मातृभाषी पत्रकारिताको अवस्था, चुनौती र विकासका लागि राज्यले चाल्नुपर्ने कदमबारे धारणा राखे।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष लक्की चौधरीले मातृभाषी पत्रकारिताले भाषा संरक्षणसँगै आदिवासी जनजातिको कला, संस्कृति, संस्कार र पहिचान जोगाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

समारोहमा ‘तामाङ सञ्चारको यात्रा : छापादेखि एआईसम्म’ विषयमा अन्तरक्रिया पनि गरिएको थियो। पूर्व मिस तामाङ सफलता थिङ तामाङले सहजीकरण गरेको अन्तरक्रियामा भाषाविज्ञ अमृत योञ्जन, आईटी विज्ञ प्रा.डा. बालकृष्ण बल तथा सञ्चारकर्मी मिक्साङ वाइबा र वीरबल तामाङ वक्ताका रूपमा सहभागी थिए।

अन्तरक्रियामा तामाङ भाषाको पत्रकारिताले छापा माध्यमदेखि एआईसम्म तय गरेको यात्राका साथै यसको विगत, वर्तमान अवस्था र आगामी सम्भावनाबारे छलफल गरिएको थियो।

संघका अध्यक्ष नेत्र तामाङले मातृभाषी पत्रकारिताको विकासमा योगदान पुर्‍याउने अग्रजदेखि नयाँ पुस्तासम्मका पत्रकारप्रति आभार व्यक्त गर्दै यसको विस्तार र सुदृढीकरणका लागि सबै पक्षको पहल आवश्यक रहेको बताए।