सगरमाथाको फेदीमा प्रिन्ट

काठमाडौं : कलाकार कविराज लामाले सगरमाथाको फेदीमा पुगेर वुडकट प्रिन्ट बनाएका छन् । जलवायु परिवर्तनको असरले हिउँ थोरै, चट्टान धेरै देखिने सगरमाथाको चित्र उनले बनाएका हुन् । समुद्री सतहदेखि पाँच हजार तीन सय ६४ मिटर अग्लो स्थान सगरमाथा आधार शिविरमा तीन रात चार दिन बसेर उनले प्रिन्ट बनाएका हुन् । टेन्टभित्रै स्टुडियो बनाएर काम गरेका कविराजले जलवायु परिवर्तनको असरलाई चित्रमा समेट्न खोजेको बताए ।

सम्भवतः विश्वमै पहिलोपटक यति उचाइमा प्रिन्ट मेकिङ भएको हो । दस टुक्रामा गरिएको कामलाई जोडेर अढाइ मिटर लामो प्रिन्ट तयार हुनेछ । कविराजले अर्को वर्ष प्रदर्शनीको तयारी गरिरहेका छन् । हिउँको बीचमा बसेर वुडकट प्रिन्ट गर्नु सजिलो काम होइन । लेक लागेर थाकेको शरीर, चिसोले चल्न गाह्रो मानेका औंलालाई उनको जोसले क्रियाशील बनाइरह्यो । लामाले दिन रात नभनी सगरमाथालाई वुडकट प्रिन्टमा ल्याएका हुन् ।

टाढा बसेर सगरमाथाको वातावरण कल्पना गर्नुभन्दा आफैंले हेरेर बनाउँदा यथार्थपरक हुन्छ । लुक्लादेखि हिमाल चढ्ने स्थानीय बासिन्दासँग सूचना संकलन गर्दै कविराजले एडमन्ड हिलारीका भरिया ८४ वर्षीय कान्छा शेर्पालाई भेटे । कान्छाले बताएको हिउँ नै हिउँले ढाकिएको सगरमाथाको स्वरूप कविराजलाई कथाजस्तै लाग्यो । अहिले हिमालमा हिउँभन्दा धेरै चट्टान देखिन्छ । धेरै चट्टानहरू पहिरो गएको दृश्य देखिन्छ । नेपालको परिचय बनेको यी हिमालको यस्तो स्वरूप देख्दा उनी चुप लागेर बस्न सकेनन् । कलामार्फत सचेतना फैलाउने उद्देश्यले यही विषयलाई रोजेका हुन् ।

जलवायु परिवर्तनसँग जोडिएका अरू चित्रहरू पनि उनको आगामी प्रदर्शनीमा समावेश हुनेछन् । सगरमाथाको फेदीमा पुगेर चित्र बनाउनु शारीरिक रूपले कष्टकर त छँदै छ, आर्थिक हिसाबले पनि निकै खर्चिलो भएको उनको भनाई छ । शेर्पा खाङ्ग्री आउटडोरको सहयोगमा उनले सगरमाथाको आधार शिविरमा बसेर चित्र बनाउन पाएका हुन् ।

SHARE